काठमाण्डौ , पुष , ८ , आफुले पहिलोपटक धर्तिमा पाहिला टेकेको दिन अर्थात आफ्नो जन्मदिनका बारे धेरैलाई थाहा नै हुँदैन । थाहा भएकाहरु मध्ये पनि कतिपयले वास्ता नै गर्दैनन् भने केहिले घरपरिवारमा रमाइलो गर्छन् भने कसैले साथीभाईसँग जमघट गरेर मनाउँछन् । तर केहि मानिसले भने जन्मदिनलाई सामाजिक क्षेत्रमा सहयोग गरेर विताउने गर्दछन् । यस्तै मध्येकी एक हुन् मञ्जु मोक्तान ।
एनआरएनए लेवनानको महिला संयोजक मोक्तानले आफ्नो जन्मदिन वृद्धवृद्धाको खुसीका लागि छुट्याइन । उनले गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रमा रहेका वृद्धवृद्धलाई न्यानो कपडा तथा खानेकुरा वितरण गरेकी छिन् । लत्ताकपडा तथा खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका नेता तीर्थ लामा, वृद्धाश्रमका संचालक समिति अध्यक्ष सरला पन्थी, बिन्दा पौडेल, रिमा सापकोटा, शोभा सापकोटा, आइटिम फाउण्डेशन नेपालका अध्यक्ष दावा फेन्जु लामा लगायतको उपस्थिती रहेको थियो ।
महिलाहरुले सञ्चालन गरेको वृद्धाश्रममा सुरुमा २ जना रहेका थिए भने हाल ४१ जना वृद्धवृद्धा रहेका छन् । विभिन्न जिल्लामा भेटिएका बेवारिसे वृद्धवृद्धालाई उनीहरुले वृद्धाश्रममा लगेर स्याहारसुसार गर्ने गरेका छन् ।
घरदैलो मुठी दान संकलन गरेर वृद्धाश्रमले उनीहरुको लत्ताकपडा तथा खानाको व्यवस्था गरेको छ । पछिल्लो समय जन्मदिन, संघसंस्थाको वार्षिक उत्सव जस्ता विशेष दिनको अवसर पारेर वृद्धवृद्धालाई सहयोग गर्ने मानिसहरुको संख्या बढ्दै गएकाले यसबाट थप सहयोग पुगेको कोषाध्यक्ष शोभा सापकोटाले बताइन् ।
यस्तै सचिव रिमा सापकोटाका अनुसार सरकारी पक्षबाट उनीहरुलाई कुनै पनि सहयोग मिलेको छैन ।
उनले एनआरएनए लेवनानको महिला संयोजक मोक्तानले जन्मदिनको दिनमा वृद्ध आमाबुवालाई सम्झेकोमा धन्यवाद दिएकी छिन् ।
वृद्धवृद्धाले झनै खुसी व्यक्त गरे । आफ्नै छोराछोरीले नहेरेर एक्लिएका बुढापाकालाई विदेशी भुमिमा रहेर पनि माया गरेकोमा सुस्वास्थ्य तथा दिर्घायुको कामना गरेका थिए ।