काभ्रे :- हरितालिका तीज पर्वको अवसर पारेर सांस्कृतिक, धार्मिक र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिज बनेपा महोत्सव : २०८२ आयोजना हुन लागेको छ। बनेपा नगरपालिका: ८ स्थित सुमंगल शान्तिनगर क्षेत्रमा भदौ ९ गते देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। सुमंगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा हुने महोत्सवमा करिब सय स्टल रहनेछन्। यी स्टलहरूमा दैनिक उपभोग्य सामग्री, कृषि तथा घरेलु उत्पादन, हस्तकला, आधुनिक व्यवसायिक वस्तु, पर्यटनसँग सम्बन्धित सामग्री र स्थानीय उत्पादन प्रदर्शन र बिक्री गरिनेछ।

महोत्सव अवधिभर हरेक दिन बृहत् सांस्कृतिक कार्यक्रम हुनेछन्, जसमा तीज गीत, नृत्य, आधुनिक र पारम्परिक संगीत प्रस्तुति,वाद्यवादन र मनोरञ्जनात्मक प्रस्तुति रहनेछन्। साथै, महिलाहरूको महान पर्व हरितालिका तीजको महत्वबारे सचेतनामूलक सन्देश दिने विभिन्न गतिविधिहरू पनि सञ्चालन गरिनेछन्।
आयोजक समिति अध्यक्ष दिपक प्रधान र सचिब भरत तिमल्सिनाका अनुसार महोत्सवले बनेपाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानलाई सुदृढ बनाउनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजार दिने अवसर सिर्जना गर्नेछ। उनले भने, “यो महोत्सव केवल मनोरञ्जन मात्र होइन, आर्थिक गतिविधि बढाउने माध्यम पनि हो।”


महोत्सवमा सहभागिता जनाउनका लागि विद्यार्थीका लागि प्रवेश शुल्क रू. ५० र सर्वसाधारणका लागि रू. ७० तोकिएको छ। आयोजकले सम्पूर्ण नगरवासी, जिल्लावासी र बाहिरका पाहुनालाई महोत्सवमा सहभागी भई स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धनमा योगदान दिन आग्रह गरेको छ।