सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आज देखि लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ?

आज देखि लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ?

7080
Shares
आज देखि लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ?

काठमाडौं, २९ जेठ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो । यसबारे बिहीबार आधिकारिक सूचना जारी हुने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । औपचारिक निर्णय आएपछि यो लागू हुनेछ । गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने छ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । ‘अहिलेको निर्णयमा यी क्षेत्र परेका छैनन्, स्थिति मूल्यांकन गरेर ती पनि क्रमश: खुल्छन्,’ ती मन्त्रीले भने ।

कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आधिकारिक रूपमा सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूबाट आएको सुझावलाई एकत्रित गर्नुपर्ने भएकाले आधिकारिक निर्णय बिहीबार सार्वजनिक गर्न लागिएको हो ।

कतिपय जिल्लामा जोखिमको मात्रा धेरै भएकाले त्यहाँको अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गरिने भएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

चैत ११ मा सुरु भएको लकडाउन विकल्पहीन ढंगले बढाउँदै लैजाँदा सर्वसाधारण मारमा परेका थिए । सुरक्षा विधि अपनाएर लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्ने दबाब सरकारमाथि बढेको थियो । यो बीचमा उच्चस्तरीय समन्वय समितिले लकडाउनको ढाँचा परिवर्तनका लागि पटक–पटक बैठक गरेको थियो । तर संक्रमणको मात्रा बढ्दै गएपछि लकडाउन खुकुलो बनाउँदा झन् जोखिम बढ्न सक्ने बुझाइ सरकारको छ । त्यसैले एकैपटक लकडाउन खुला गर्न सरकार हच्केको हो ।

सरकारले यसअघि नै करिब ४ दर्जन प्रकारका उद्योग कारखाना सुरक्षा विधि अनपाएर सञ्चालन गर्न सकिने निर्णय गरिसकेको थियो । तर आन्तरिक आवागमनमा समस्या भएकाले त्यस्ता उद्योग पनि राम्ररी चल्न सकेका थिएनन् । कान्तिपुर दैनिकले समाचार लेखेकाे छ ।

7080
Shares

ट्रेन्डिङ