काठमाडौं । थापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ ।
काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका व्यक्ति कञ्चनपुरका गोविन्द बोहरा रहेको खुलेको थियो ।
गोविन्दको हत्याको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका जगदिश बोहरा, सोही ठाउँका सुरजकुमार विष्ट, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं मैतीदेवी बस्ने नरेश सिंह महरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का नविन भन्ने मोतीलाल बोहरा रहेका छन् ।
पक्राउ परेका युवा १७ साउनमा गोविन्दसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा गई सँगै गाजा पनि सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । त्यसै क्रममा गोविन्दको हत्या भएको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
पशुपति नजिकको सीसीटिभी फुटेजमा समेत उनीहरुलाई देखिएको, शंकास्पद हाउभाउ देखाएको प्रहरीको जिकिर छ । पक्राउ परेकाहरुले हत्याको आरोप अस्वीकार गरेका छन् ।
उनीहरुविरुद्ध सोमबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।