सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

5205
Shares
कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

गुल्मी, ३२ जेठ :गुल्मीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको शनिबार राती सवा ९ बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिएका छन्। उनी जेठ २ गते भारतबाट गाउँ आएका थिए।

धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो। त्यसलगत्तै थप उपचारको लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा लगिएको थियो। उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको समेत रोगी रहेको अस्पतालले जनाएको छ।

उनलाई थप उपचारको लागि बुटबल लैजानुपर्ने भनेपनि उनले जान अस्विकार गरेपछि उनलाई तम्घासमै राखिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए। सुरक्षाकर्मीको समुहले राति नै उनको शवको व्यवस्थापन गरेको छ। धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित एक जंगलमा शव गाडिएको गाउँपालिकाले जनाएको छ।

यो सँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा मृत्यु भएको थियो। गुल्मीमा कुल कोरोना संक्रमितको सङ्ख्या ११ पुगेको छ।

जसमध्ये दुईजनाको निधन भइसकेको छ।दुईजनाले कोरोना जितेर घर फर्केका छन् भने बाँकी सात जनाको उपचार भइरहेको छ।संक्रमितमध्ये दुई रुरु गाउँपालिकाका हुन् भने तीन जना रेसुङ्गा नगरपालिकाका हुन्। यस्तै धुर्कोट र छत्रकोट गाउँपालिकामा एक/एक जना संक्रमित रहेका छन्। उनीहरुको अवस्था सामान्य छ।

5205
Shares

ट्रेन्डिङ