सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

4725
Shares
कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

काठमाडौं, २२ भदाै । कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् ।

संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ । सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको सल्लाह सुझावलाई मनन गर्नुपर्छ ।’

उनले संक्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए । विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । उनले जो सुकै पनि संक्रमित हुन सक्ने भन्दै कसैलाई कोरोना भइहाले समाजले अपहेलना गर्न नहुने बताए ।

उनले भने, ‘सबैभन्दा ठूलो कुरा त रोग लाग्न नदिनु हो । कोरोनासँगै जिउन सिक्नुपर्छ ।’ उनले संक्रमण हुन नदिन सरसफाइ, भौतिक दूरी र मास्कको समुचित प्रयोगलाई विशेष ध्यान दिनुपर्ने बताए । डा. कार्की ११ दिन आइसोलेसनमा बसेका थिए ।

सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले संक्रमण भएको तर आफूलाई कुनै लक्षण नदेखिएको बताए । सांसद बोगटीले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहिरहन्छ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन् ।

उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना संक्रमणबाट मुक्त भएको छु ।’

नेपालमा आइतबार १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९ सय १४ पुगेको छ । जुन कुल संक्रमितको ६२ दशमलव ५० प्रतिशत हो । यस्तै, आइतबार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । आइतबार काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित २ सय ८९ जनाको मृत्यु भएको छ ।

हालसम्म सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी पाँच जिल्लामा संक्रमित शून्य भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १० हजार ३ सय ८२ पटक पीसीआर परीक्षण भएको छ । हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ पटक पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन् । सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

4725
Shares

ट्रेन्डिङ