सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

7545
Shares
हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

काठमाडौं, मंसिर ३० : कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्र्याइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्र्याइँ नगर्न विज्ञहरूको आग्रह छ ।

यद्यपि, संक्रमण जोखिमका बीच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । अहिले अधिकांश नागरिकले कोरोनालाई ख्यालठट्टा मान्दै आएका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा घटाउँदा संक्रमितको संख्या दैनिक रूपमा कम देखिन थालेको छ । जोखिम हुँदा हुँदै पनि सवारीसाधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनीतिक दल र पेसागत समूहहरूले दैनिक भौतिक उपस्थितिसहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै भौतिक उपस्थितिसहित जिल्ला जिल्लामा विद्यालयसमेत सञ्चालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताए । उनले भने, ‘कोरोनाबाट जोगिन भौतिक दूरी कायम गरौं । मास्कको समुचित प्रयोग गरौं । भीडभाडमा नजाऔं ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भीडभाडले जोखिम निम्त्याउने बताए । उनले भने, ‘भीडभाडले जोखिम निम्त्याउने र संक्रमणको सम्भावनालाई बढाइदिएको देखिन्छ । यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने हो । कोरोना भाइरस सर्न भीडभाड र जमघट सहज माध्यम बन्न सक्छ । जमघटमा संक्रमित भएको रहेछ भने धेरै व्यक्तिमा संक्रमण फैलिएका उदाहरण प्रशस्त छन् ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि सचेत हुनुपर्ने बताए । उनले भने, ‘कोरोना जोखिम अझै कायम रहेकाले जमघट गर्नुहुँदैन । त्यसको अनुगमन तथा निगरानी गर्न जरुरी छ ।

भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना रहन्छ ।’ उनले जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

7545
Shares

ट्रेन्डिङ