सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

3940
Shares
कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

काठमाडौं, माघ १ः चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७–७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पुर्याइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ११ दशमल ८ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि यस अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटे पनि मुलुकमा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढेसँगै रेमिट्यान्सको वृद्धिदर झन् बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूका अनुसार कोरोना महामारी पछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो ।

जसका कारण अहिले मुलुकको शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालु आवको बितेका पाँच महिनाको अवधिमा देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा २३ अर्ब ३० करोडले मात्र बचतमा रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा वार्षिक बिन्दुगत मूल्यवृद्धि २ दशमलव ९३ प्रतिशत झरेको थियो । गत आवको सोही अवधिमा मूल्यवृद्धि ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव २३ प्रतिशतमा कायम रहेको देखाएको छ । तर, बजारभाउ त्योभन्दा धेरैले बढेको देखिएको छ । खासगरी दैनिक उपभोग्य वस्तुको भाउ विगत केही महिनायता अस्वाभाविक रूपमा बढेको आम उपभोक्ताकर्मीले बताएका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने त्यो गतिमा मूल्य वृद्धि नभएको देखिएको हो । राष्ट्र बैंकले निकालेको मूल्यवृद्धिको तथ्यांकले बजार भाउलाई भने गिज्याइरहेको उपभोक्ता अधिकारकर्मीको दाबी छ । राष्ट्र बैंकको मूल्यवृद्धि गणाना गर्ने विधि फरक हुँदा वस्तु तथा सेवाको मूल्य जतिसुकै बढे पनि तथ्यांकले महसुस गर्न नसकेको उनीहरूको बुझाइ छ । यसले अहिले बजारमा अकासिएको मूल्य वृद्धिदर र राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा कुनै तालमेल नै नमिलेको अधिकांश उपभोक्ता अधिकारकर्मीको दाबी छ । आजको राजधानी दैनिकमा समाचार छ ।

3940
Shares

ट्रेन्डिङ