सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

4425
Shares
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं, माघ २ः कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।

बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण चैतसम्म कोर्स सकिने अवस्था छैन । त्यसैकारण एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौं ।’

उनले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्रालयले आफूलाई जानकारी गराएको बताए । यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा। पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डले गत पुस दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरे पनि अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन । बोर्डका अनुसार हालसम्म विवरण ‘इन्ट्री’ गराउने कार्य सकिएको छ । बोर्ड अध्यक्ष प्राडा। पौडेलले भने, ‘उत्तरपुस्तिका रुजु गर्ने कार्य सकिँदै छ । विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि सही तरिकाले अंक विवरण पठाएनन् । त्यसकारण पनि नतिजा समयमा प्रकाशन गर्नमा अप्ठेरो भएको हो ।’

बोर्डका अनुसार कक्षा १२ को परीक्षामा करिब ४ लाख ३१ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले ४० अंकको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अंक कक्षा ११ को र आन्तरिक मूल्याकंनका आधारमा गणना गरिने बताइएको छ ।

यस्तै यस वर्षको एसईई परीक्षा आगामी असारभित्र गर्ने परीक्षा बोर्डको तयारीमा छ । कोभिड–१९ का कारण गएको वर्ष आन्तरिक मूल्यांकनमार्फत नतिजा प्रकाशन भएको थियो । बिदा कटौती र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने योजनामा शिक्षा मन्त्रालय छ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई सजिलो हुने गरी १ सय ५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । यस्तै कक्षा ११ को रजिस्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने बोर्डको तयारी छ । हाल देशभरका अधिकांश विद्यालयले भौतिक रूपमा सहभागी भएर पठनपाठन अघि बढाइरहेका छन् । तर यो शैक्षिक सत्रमा कक्षा ११ मा पाठ्यक्रम विवाद अदालतसम्म पुग्दा विद्यार्थी, अभिभावक र शिक्षक मारमा परेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

4425
Shares

ट्रेन्डिङ