झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) सक्रिय रहेको खुलासा भएको छ । उच्च स्रोतका अनुसार केयूले विस्तारित कार्यक्रमका नाममा बिएण्डसीलाई सम्बन्धन दिने अन्तिम तयारी गरेको छ । केयूले आफ्नो तर्फबाट सम्बन्धनको अन्तिम तयारी गरी मेडिकल काउन्सिललाई प्रारम्भिक अनुगमनका लागि केही दिन अघि पत्राचार गरेको थियो । सो पत्रका आधारमा काउन्सिलले प्रारम्भिक अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।
काउन्सिल स्रोतका अनुसार सम्बन्धनका लागि सम्पूर्ण मापदण्ड पुरा गरेको प्रतिवेदन काउन्सिलको पूर्ण बैठकमा पेश भएको छ । कलेजको अनुगमनमा काउन्सिलका उपाध्यक्ष डा. एई अन्सारी, सदस्य डा. मनोहर प्रधान र विराटनगरबाट विज्ञका रुपमा डा. पार्थ गुरागाईं गएका थिए ।
उच्च स्रोतका अनुसार शिक्षा मन्त्री धनिराम पौडेलले प्रतिवेदन पास गरी सम्बन्धनको बाटो खोलिदिन काउन्सिलका पदाधिकारीलाई दबाब दिएका छन् ।
तर काउन्सिलको हिजो सोमबार बसेको पूर्ण बैठकले भने प्रतिवेदन पास गर्न सकेन । डा. केसी र सरकारबिच गत आइतबार चिकित्सा शिक्षा विधेयक पारित नभई नयाँ सम्बन्धन, विस्तारित कार्यक्रम र थप कार्यक्रम नदिने सहमति भए अनुसार काउन्सिलको सोमबारको बैठकले निर्णय गर्न नसकेको बुझिएको छ ।
केयू उपकुलपति डा. रामकण्ठ मकाजुले तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको लिखित निर्देशन विपरित विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएका थिए । उच्च स्रोतका अनुसार अहिले बिएण्डसीलाई सम्बन्धन दिने शर्तमा डा. मकाजु पुनः उपकुलपति बन्ने सहमति भएको छ ।
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. मकाजुलाई विराट र देवदहलाई सम्बन्धन दिने शर्तमा उपकुलपति नियुक्त गरेका थिए । केयूका तत्कालिन उपकुलपति डा. सुरेशराज शर्माले क्षमता नभएको भन्दै सिनेट बैठकबाट नयाँ सम्बन्धन नदिने निर्णय गराएका थिए । बिएण्डसीका सञ्चालक माओवादी निकट छन् । स्वास्थ्य खबरपत्रिका