काभ्रे :- धुलिखेल अस्पतालमा आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ।
नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको स्वास्थ्य बिमा प्याकेजमा रहेको आर्थिक तथा प्राविधिक सीमितताका कारण अस्पतालमा स्वास्थ्य बिमा सेवा केही समयदेखि स्थगित भएको थियो। अस्पतालका अनुसार स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि आवश्यक आर्थिक सहायता तथा बिमा सेवा बापतको भुक्तानी सुनिश्चित हुने आश्वासन प्राप्त भएकाले कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको प्रथम सेवा बिन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। अस्पतालले आइतबार तथा सार्वजनिक बिदाका दिन स्वास्थ्य बिमा सेवा सञ्चालन नहुने जनाएको छ।

स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने भुक्तानी सहज रूपमा उपलब्ध भएमा सेवा प्रवाहमा थप सहजता आउने अस्पतालको विश्वास छ। बिरामीको पहुँच विस्तार गर्नुका साथै स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीको भीड व्यवस्थापनलाई समेत सहज बनाउने गरी अस्पताल व्यवस्थापनले आवश्यक तयारी गरिरहेको जनाएको छ।
सरकारले बाँकी बक्यौता रकम भदौ मसान्तसम्म भुक्तानी गर्ने आश्वासन दिएको अस्पतालले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार सकारात्मक रहेको र आगामी दिनमा आवश्यक सहकार्य हुने अपेक्षा अस्पतालले गरेको छ। हाल अस्पतालले बक्यौता रकम मध्ये ८ करोड भुक्तानी प्राप्त गरेको छ। भने अझै अस्पतालले बताए अनुसार १७-२० करोड भुक्तानि बाकि रहेको छ।


