सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

5165
Shares
‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं, माघ ३ः नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । ‘कोभिसिल्ड’ सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप हो ।

योसँगै नेपालमा रहेको आधिकारिक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । उनले निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा निर्णय गर्दै जाने बताए ।

उनले भने, ‘यो कम्पनी मात्रै अन्तिम होइन । सरकारले कोरोनाविरुद्धको खोप आयात सन्दर्भमा टेक्निकल नोट तयार गरेको छ । त्यसमा आधारित रहेर अन्य भ्याक्सिन पनि दर्ता हुन सक्छन् ।’

नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘आधिकारिक आयातकर्ताले मात्रै कोरोनाविरुद्धको खोप ल्याउन पाउँछ । टेक्निकल नोटका आधारमा हामीले निर्णय गर्दै जाने हो ।’

औषधि व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ खोपको आपतकालीन प्रयोग अनुमति गरिएको सम्बन्धमा विभागीय निर्णयअनुसार उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिएको जानकारी गराउँछौं ।’

विभागले कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोप प्राप्ति र प्रयोगसम्बन्धी’ अवधारणापत्रलाई आधार मानेको छ । विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

विभागले गत बुधबार कोभिड–१९ विरुद्ध खोपको आयातका लागि उत्पादक वा सोका आधिकारिक आयातकर्तालाई दर्ता अनुमतिपत्रका लागि आवेदन माग गरेको थियो । कोभिड–१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिने योजना बनाएको छ । सरकारले माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रमसम्ममा राख्न सकिने खोपलाई पहिलो प्राथमिकतामा रोखेको छ ।

कोभिसिल्ड नामक खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । पूणेमा रहेको एसआईआईले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो ।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्ये मानिन्छ । सेरमले ५ करोडभन्दा बढी डोज उत्पादन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले फागुनभित्र नेपाली नागरिकले कोरोनाविरुद्धको खोप लगाउने बताएको छ । यो खोप ७० देखि ९० प्रतिशतसम्म प्रभावकारी रहेका रिपोेर्ट सार्वजनिक भएका छन् । सरकार कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रूपमा खोप दिने योजनामा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

5165
Shares

ट्रेन्डिङ