काभ्रे र काठमाडौंमा जोरबिजोर प्रणाली हटेपनि लामो दूरीको यातायात काठमाडौँ प्रवेश गर्न भने नपाउने भएका छन् । काठमाडौं उपत्यकाका सिडियोहरुले लामो दुरीको यातायात काठमाडौँ प्रवेश गर्न नदिने निर्णय गरेपछि काभ्रे प्रशासनले काभ्रे सहित राजधानी पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्न आएका सबै सवारी साधनलाई बनेपामै रोकेको छ ।
साँगा नाकासम्म पनि यात्रुबाहक सवारी साधन चल्न नदिएपछि यात्रुले सास्ती निकै खेपिरहेका छन् । राजधानी पूर्वका पहाडी जिल्ला र भित्री मधेसबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुहरु बनेपामा ओर्लिएर हिँड्नु परेको छ । कतिपय यात्रुहरु भने बनेपाबाट ट्याक्सी प्रयोग गरेर साँगा नाका पार गर्ने गरेका छन् ।
सबै सार्वजनिक सवारी साधन बनेपाको चार दोबाटोबाटै फर्किने गरेको छ । ‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट राजधानी प्रवेश गर्ने अनुमति लिएका सार्वजनिक सवारी साधन मात्रै काठमाडौँ प्रवेश गरेका छन् । त्यसबाहेक अन्य सबै सवारी साधन बनेपा मै रोकिएका छन्, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो ।’
काठमाडौँ प्रवेश गर्न नपाएपछि काभ्रेका कुनैपनि बस व्यवसायीहरुले नियमित क्यूमा बस चलाएका छैन् । ‘काठमाडौँ प्रवेश गर्नै दिएको छैन । कसरी नियमित क्यूमा बहस चलाउनु । प्रशासनले काठमाडौँ प्रवेश गर्न नदिएपछि ब्यवसायीहरू बस चलाउन मानिरहनु भएको छैन् काभ्रे बस ब्यवसायी प्रालिका अध्यक्ष बर्ण शाक्यले मिलिजुली खबरसँग भन्नुभयो ।’
काभ्रे र उपत्यकामा लगाइएको जोरविजोर प्रणाली हटेपछि अहिले राजधानी पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुबाहक बसको संख्या अरनिको र बीपी राजमार्गमा ह्वात्तै बढेको छ । तर ती सबै सवारी साधन बनेपामा नै रोकिएका छन् । त्यहाँबाट हिँड्दै भक्तपुर सम्म पुग्न यात्रुहरु बाध्य भएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पोखरेलले राजधानी प्रवेश गर्न चाहाने सार्वजनिक यातायातका साधनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले पास दिने बताउनुभयो । व्यवसायीहरूले राजधानी प्रवेश गर्न चाहनु भयो भने जिल्ला प्रशासन कार्यालयले पास दिन्छ ।
केहि सार्वजनिक बसहरुलाई पास दिईपनि सकेका छौं । मैले काठमाडौंका सिडियोहरुसँग छलफल पनि गरिसकेको छु । उहाँले तत्काल लामो दूरीको यातायातका साधनलाई काठमाडौँ प्रवेश गर्न नदिने जानकारी गराउनुभएको छ, काभ्रेका प्रजिअ पोखरेलले भन्नुभयो ।’
तर व्यवसायीहरुले भने निर्वाध रुपमा राजधानी प्रवेश गर्न पाउनुपर्ने अडान राखेका छन् । उनीहरुले पासको झन्झट नगरिदिन प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । ‘कति सवारीसाधनको लागि पास माग्न जाने ? निर्वाध रुपमा हामीलाई काठमाडौँ प्रवेश गर्न दिनु पर्दछ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराएर सवारी चलाउने जिम्मा हाम्रो हो, हामी यसमा कटिबद्ध छौ, काभ्रे बस व्यवसायी प्रालिका अध्यक्ष शाक्यले भन्नुभयो ।’