सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

5305
Shares
सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । रातो पुलको माथिबाट पानी बगेको उनले बताए । हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

5305
Shares

ट्रेन्डिङ