सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सहमति र निर्वाचनको बिकल्प छैन, ‘प्रधानमन्त्री’

सहमति र निर्वाचनको बिकल्प छैन, ‘प्रधानमन्त्री’

3105
Shares
सहमति र निर्वाचनको बिकल्प छैन, ‘प्रधानमन्त्री’

२३ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने बताउनु भएको छ । संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको बताउँदै उहाँले अहिले विरोधमा रहेको नेकपा एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
बिहीबार सात नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणापछि देश अनिर्णयको बन्दीबाट मुक्त हुने बताउनु भयो । ‘म काठमाडौं फर्किएको केही दिनभित्र निर्वाचन कार्यक्रम र मिति घोषणा हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि देश निर्वाचनको दिशामा अघि जान्छ । सिंगो राष्ट नयाँ गतिमा अघि बढ्छ । माओवादी पार्टी र सरकार दुवैले देशलाई नयाँ गति दिनेछ ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावको रणनीतिक महत्व छ । यो एक प्रकारको राजनीतिक एक्सन हो । हिमाल, पहाड तराईलाई एकताबद्ध गरेर राष्टिय एकता कायम गर्ने एक्सन,’ उहाँले भन्नुभयो, ‘यो एक्सनबाट आउने रियक्सनले मुलुकलाई नयाँ दिशामा लैजान्छ । तिनै पार्टी मिलेर निर्वाचनमा आउनुपर्छ । नआई सुख्खै छैन ।’
दुई नम्बर प्रदेशसहित रोल्पाको थवाङ, बझाङको काँडा, नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनर्संरचनाको आयोगको प्रतिवेदन आउन ढिला भएको जानकारी दिँदै विवाद समाधान नहुने स्थितिमा स्थानीय निकायको पुरानै संरचनाअनुसार पनि चुनाव हुनसक्ने बताउनु भयो ।
‘गाविसलाई गाउँपालिका भनेर नामाकरण गरौं भन्ने धेरै पार्टीको मत देखिएको छ । म भने अझै केही दिन आयोगको प्रतिवेदन अनुसार नै गर्नुपर्छ भन्ने जोडमा छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यदि त्यसो हुनै नसक्ने परिस्थिति भए हामी त्यसलाई पनि मान्न तयार छौं । तर के कुरा सत्य हो भने अब गाविसको चुनाव भने हुनेछैन ।’
को राष्ट्रघाती, को राष्ट्रवादी ?
प्रधानमन्त्री प्रचण्डले अहिले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भनेर आरोप लगाउने गरेकोमा आपत्ति जनाउनु भयो । आफूले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुुसार नै पहाड र तराईलाई छुट्याएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।
‘पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो । ६–७ पानाको त्यस प्रस्तावमा केपी ओलीजीले हस्ताक्षर गर्नुभएको छ । सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ ‘प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहीँ राष्ट्रवादी हुने ? बडो बिचित्रको स्थिति देखिरहेको छु मैले ।’
प्रधानमन्त्रीद्वारा चमेलिया आयोजनाको स्थलगत अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गर्नुभएको थियो ।
चिलिमेको सुरुङ साढे चार हजार भन्दा बढी लामो छ । बीचमा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई तिव्रता दिइएको छ ।chilime-1
प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसमेत सहभागी हुनुहुन्छ । आयोजना प्रमुख अजय दाहालले हालसम्म भइरहेको कामबारे जानकारी गराउनु भएको थियो ।
सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । तोकिएको समय अवधिभन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरुलाई पुरस्कृत गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । आयोजनाको कूल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसअघि प्रधानमन्त्रीले शिखर गाविसको बलाँचस्थित आयोजनाको कार्यालय परिसरमा कर्मचारी र स्थानीय जनसमुदायलाई सम्बोधन गर्नुभएको थियो ।
दार्चुलाबाट प्रधानमन्त्री प्रचण्डसहितको टोली अपरान्ह पौने चार बजे सुर्खेत आइपुगेको छ । प्रधानमन्त्री प्रचण्डले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्स्पोको उदघाटन गर्दै राज्य र नीजि क्षेत्रको साझेदारीमा विकासले तिब्रता पाउने बताउनु भएको छ ।

3105
Shares

ट्रेन्डिङ