सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • यौन दुव्र्यवहार गर्ने लाई एक लाख क्षतिपूर्ति भराउन आदेश

यौन दुव्र्यवहार गर्ने लाई एक लाख क्षतिपूर्ति भराउन आदेश

3945
Shares
यौन दुव्र्यवहार गर्ने लाई एक लाख क्षतिपूर्ति भराउन आदेश

भीम राई । खोटाङ, २७ मंसिर

जिल्ला अदालत खोटाङले दिक्तेलस्थित होटल शुभदिनमा काम गर्ने महिला कामदार र उनकी छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गर्ने तीन दोषीबाट १ लाख रूपैयाँ क्षतिपूर्ति भराउन सजाय सुनाएको छ ।

होटलमा काम गर्दै आएकी महिला कामदार र उनकी तीन वर्षीया छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गर्नमा संलग्नलाई दोषी ठहर गर्दै सञ्चालक हरिप्रसाद आचार्य र कामदार तिलक कार्कीलाई जनही १०/१० हजार तथा प्रबन्ध निर्देशक दीपनारायण रिजालका छोरालाई ५ हजार जरिवानाका साथमा १ लाख क्षतिपूर्ति भराउन फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले तीनैजना दोषीबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउन फैसला सुनाएको प्रहरीले जनाएको छ । नाबालक भन्दै प्रबन्ध निर्देशक रिजालका छोराको नाम गोप्य राखिएको छ ।

कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा गत २८ वैशाखमा पक्राउ परेका तीनैजना धरौटी बुझाएर १७ जेठमा रिहा भएका थिए । होटल सञ्चालक आचार्य र नाबालक भनिएका किशोरले कुटपिट गरेको र यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले २१ वैशाखमा जिल्ला प्रहरी कार्यालयमा घाजाँच केश फारमका लागि निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो ।

महिला अधिकारकर्मीका अनुसार आमाछोरीमाथि गत १४ वैशाखमा कार्यरत होटलमा कुटपिट तथा यौन दुव्र्यवहार भएको थियो । घरेलु हिंसामा परेर घरबाट निकालिएकी आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानवअधिकार आयोगको निर्देशनमा प्रहरीले दोषीउपर कारवाही प्रकृया अघि बढाएको थियो ।

आयोगको सोही निर्देशनपछि आरोपितहरू पक्राउ परेका थिए । मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारवाही प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।

घटनापछि लुकाएर राखिएको अवस्थामा आमाछोरीलाई उद्धार गरेर प्रहरी संरक्षणमा पुर्याइएपछि मात्र पीडित महिलाले दवावमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिने आँट गरेको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएको हप्ता दिनपछि मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको टोली र प्रहरीले संयुक्तरूपमा आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट उद्धार गरेर प्रहरीको संरक्षणमा पु¥याएको थियो ।

पीडितले प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन कार्यको आशयले जिस्क्याउने, संवेदनशील अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख छ । यस्तै नाबालक किशोर भनिएका दोषीले संवेदनशील अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र १४ वैशाखमा यौनाङ्गमा टोकेर घाउ बनाइ दिएको आरोप छ ।

कार्कीले भने होटलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा ११ वैशाख राति कोठामा थुनेर कुटपिट गरेर मरणासन्न अवस्था बनाएको पीडितको भनाइ छ । काठमाडौं माइती भएकी पीडित महिला २०६९ साल मंसिरमा विवाह गरेर खोटाङ आएकी हुन् ।

श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि ६ वैशाख २०७१ देखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई २३ माघ २०७२ देखि होटल शुभदिनमा ज्यालादारी कामदारका रूपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि उनी अरुको संरक्षणमा बस्न बाध्य बनेकी हुन् ।

 

3945
Shares

ट्रेन्डिङ