सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१

कथा- छाेराकाे प्रश्न !

5400
Shares
कथा- छाेराकाे प्रश्न !

पुसको दिन । तुवाँलोले डम्म ढाकेर होला, दिउँसो चार बजे नै अँध्यारोजस्तो देखियो । जाडो पनि खपि नसक्नु थियो ।
आज फेरि तबियत पनि ठिक थिएन । बिहान देखिनै टाउको घुमाई रहेको थियो । व्यपार पनि त्यति भएको होइन की त्यस्को खुशीले टाउको चर्किन रोकियोस् ।
फेरी हामी ट्याक्सी ड्राइभरलाई शरिरमा भएको सबै रोग अन्त्य हुन्छ यदि व्यपार राम्रो भयो भने । तर, आज खासै व्यपार पनि भएको थिएन । त्यै भएर, टाउको घुम्न रोक्ने त सवाल नै पैदा भएन ।
चबहिलमा भर्खरै ग्राहक ओरालेको थिए । डेरा रातोपुलमा थियो । त्यै नजिकै साहुको ग्यारेज पनि थियो ।
ट्याक्सी चलाउन मनै थिएन, पटक्कै थिएन ।
आजलाई यति भन्ने सोच आयो । ट्याक्सी फनक्कै घुमाएँ ।
सडकको देब्रे तीरबाट ट्याक्सी रफ्तारले कुदाएँ । गौशलाबाट तल झर्नु पर्ने भएकोले जाम नहोस् भनेर रफतार पक्डीएँ ।
मित्रपार्क पुग्नपुग्न लाग्दा एउटो असईले रातो बत्ति वाला डन्ठा देखायो । घ्याच्चै ब्रेक हानेँ । रफतार ज्यादा भएको कारण आदि जिउ पुरा हुत्तियो ।
“धन्नै मारेनै गुरुज्यु ! कहाँ जान यस्तो हतार हौ ।” असई बोल्यो ।
“त्यस्तो केही हैन साप, टाउको दुख्दै थियो त्यसकारण घर पुग्न हतार थियो ।”
असई मुस्कुरायो । उसको मुस्कानले मालुम पर्दै थियो कि, उ मलाई छड्के किसिमले जिस्काउँदैछ भन्ने । मैले त्यहाँ केही प्रतिक्रिया जनाउन चाहिन ।
“जेहोस् गुरुज्यु, गल्ती त गर्नु भयो ! लु लाइसेंस हेरौं त ?”
“यति जाबोको लागि के लफडा गर्नु हुन्छ साप ?”
“लौ लौ लाइसेंस झिकम त !” असई आफ्नो बोलिमा अडा्न लिएर बस्यो ।
मलाई पनि के किचकिच गरिराख्नु झैं लाग्यो । मैले स्टेरीङबाट आफ्नो दाहिने हात फुकाई त्यै नजिकै स्टेरीङ साइडमा रहेको डासपोर्ट खोलेँ ।
मैले डासपोर्टबाट लाइसेंस झिक्दै थिए कि, एउटो इंस्पेक्टर अर्को लेनको पेटि बाट चिच्यायो, “जान देउ त्यसलाई ! रोड क्लीएर गर छिटो ! प्रधानमन्त्री आजै आउँदै हुनुहुन्छ, एयरपोर्ट झरि सक्नु भयो अरे ।,” उसले अझै थप्दै भन्यो, “भोली आउँने सुचना पाएका थियौं तर, खै किन हो आजै आउँन लाग्नु भयो । जे होस्, थाहा पाए पछि कर्तव्य निर्वाह गर्नै पर्यो । रोड क्लीएर गर है । ”
त्यो सुनिसकेपछि असई मेरो तर्फ फर्केर बोले, “ल…..ल गुरुजी जाँदा हुन्छ । लाइसेंस देखाउन पर्दैन । अब देखि यस्तो नहोस् है ?” यति भन्दै उसले मलाई गाडि बढाउन आग्रह गर्यो । धन्यवाद साप, भन्दै म त्यहाँबाट हुइँकिएं ।
“साला ! पन्ध्र मिनेट त्यसै खाइदियो” भन्दै आफु सँगै विलाप गरेँ ।
मित्रपार्क देखि पुरा ट्याक्सी कुदाएँ । प्रधानमन्त्री आउने भएर होला गौशलासम्म कुनै जाम भेटिन ।
देब्रे तीरबाट रातोपुल ओर्लिन देर्बै बाटो समात्नु पथ्र्यो । जाम नभएको कारण मोड्न कुनै गाह्रो भएन । सरासर झर्न तीर लागेँ ।
तल झर्दै थिएँ कि, केही युवाहरु हातमा विविध कुराले कोरिएको पोष्टर लिएर भित्तामा टाल्दै थिए ।
त्यत्तिकैमा अघि त्यहाँ मित्रपार्कमा इंस्पेक्टरले असईलाई भनेको कुरा झ्mल्याँस सम्झ्mीएँ की प्रधानमन्त्री नेपाल आउँदैछन् । प्रधानमन्त्री एक्कासी नेपाल आउँनु र यसरी केही युवाहरुले पोस्टर टाल्नु आखिर यि कुरा बीच सम्बन्ध के छ ? एकछिन सोचेँ । तर, अझै पनि बात के हो बुझ्न सकिन । दिमागमा केही नफुरे पछि सम्झीनु नै बेकार जस्तो लाग्यो ।
मलाई ग्यारेज चाँडो पुग्नु थियो त्यसकारण, समय नखर्चि म सरासर साहुको ग्यारेज तीर जान तफर््m लागेँ ।
गंजी माथि एउटो पातलो स्वेटर मात्र लगाएको मलाई एक्कमसी जाडोको आभाष भयो । अब त कति खेर घर पुगम झैं भो । काँपि रहेको शरिर र दुखि रहेको शिरलाई थाम्दै मैले ट्याक्सी कुदाएँ ।
साहुको ग्यारेज रातोपुल वरै थियो । त्यसैले ग्यारेज पुग्न समय नै लागेन । ग्यारेज पुग्दा कमै मात्र ट्याक्सी मैले विश्राममा रहेको पाएँ । यतिले त संकेत पाईसकेको थिए की, म आज सारै चाडो आईपुगेछु । नआइ पुगु पनि कसरि, तबियतले साथ कहाँ दिएको थियो र ?
ग्यारेज कम्तीमा पनि एक रोपनी जग्गामा थियो । त्यसमै साहुले चार कोठे घर बनाएका थिए । जस्मा एक कोठा ट्वाइलेटको लागी, अर्को किचेन, अर्को सुत्ने कोठा र अर्को आफ्नो लागि बनाएका थिए । ग्यारेजमा ट्याक्सीमा ल्याए पछि साहुलाई दिन भरिको कमाई बुझाउन साहुको कोठा पुग्नै पथ्र्यो ।
मैले ट्याक्सी आफुले सधै राख्ने ठाउँमा साइड लगाएर राखेँ । त्यसपछि सरासर साहुको कोठा तीर लागेँ । साहुको कोठा पुग्दा साहु रेजिस्टरमा केही लेख्दै थिए । साएद हिसाव होला भन्ने भान रहयो ।
म कोठा छिर्ने बित्तिकै उनले मेरो खुट्ठाको चालकै भरमा, “हरि आज चाँडै आईपुगिस त, के भो तलाई हँ ?” भन्दै प्रश्न ठड्याए ।
यो पहिलो पटक भएको होइन । उहाँसँग काम गर्न थालेको महिना दिनमै मैले यो चमत्कार सुन्ने मौका पाएको थिए । बेला–बेला त लाग्थ्यो साहुजीको यस्तो स्मरण शक्तिको कारणले नै होला ग्यारेज चलेको । नत्र, यस्तो फटा सहरमा कसरि बसि खान सकिन्थ्यो र ?
साहुजीले सोध्ने बित्तिकै मैले उत्तर दिई हाले, “आज अलिक सन्चो भएन दाजु, बिहान देखिनै टाउको चर्काइ रहेथ्यो ।”
“उसो भए औषधी खाइस त ?,” साहुजीले रेजिस्टरबाट आफ्नो आँखा हटाई मतीर हेर्दै सोधे ।
“खाइन दाजु । यस्तो भैरहन्छ भनेर बेवास्ता गरें, पछि त खपि नसक्नु भो !”
“तँ जस्तो जान्ने बुझ्नेले पनि यस्तो गर्ने हो त ?, त्यस्तो गाह्रो– साह्रो पर्दा पनि कैं औषधि नखाएर बस्ने हो ? हेर ! अझै २–३ घण्टा व्यपार हुन्थ्यो नि !”
साहुजीले त्यसरी हकारी रहदा म चुप नै बसेँ ।
मेरो मौनताले उहाँलाई ग्यानि महसुस गराएछकि क्या हो थाहा भएन तर, केही बेर पछि कुर्सिबाट जुरुक्कै उठि म नजिक आइ भन्नु भो, “हेर बाबु शरिरको ख्याल गर । यसरि न तँलाई फाइदा हुन्छ, न मलार्इं ।,” अझै त्यसमा थप्दै भन्नु भयो, “ल केही छैन आज घर जाँ, आराम गर् ।”
साहुजीले त्यसो भनिसकेभपछि मैले दिनभरिको पारिश्रमिक कमिजको दाहिने पट्ठिको खल्तीबाट झिकेँ । पैसोको सानो बिटो टेबलमा राख्दै भने, “दाजु आज योभन्दा सकिएन ।”
साहुले ती पैसा हातमा लिदै गने । १,२,३…… गर्दै गन्ती गर्न थाले ।
रुपैयाँ धेरै भएको थिएन । त्यसैले यति त थाहा थियो कि, हातमा बडा रकम पर्ने वाला छैन ।
केही बेरमै गन्ती सकिन्छ । मेरो ध्यान मात्र साहुको दुई चुच्चे ओठमा थियो ।
गन्ती सकिए लगतै साहुजी बोली हाल्नु भो, “हरि भाइ खुद्रा–खुद्री गरेर हजार जति मात्र भएको रैछ । आज कमाई नभाकै रैछ उसोभए ।,” उनले मेरो हातमा ५०० थमाई दिएर अझै भन्नु भो, “लेऊ भाइ तिम्रो कमाई । बिसन्चो छौ त्यसकारण आज थपथाप पारेर दिएँ ।”
साहु दाजुको एउटो विशेषता के थियो भने, ऊनीले आजसम्म मलाई कहिल्यै पनि आज कमाई टन्नै भएछ भनेनन् । चाहे दिनको दशै हजार कमाई किन न भएको होस् । त्यहाँबाट एउटा पाठ त त्यसै सिकिन्थ्यो कि– मानिससँग पैसाको सागरै छ भने पनि उसले स–साना खहरे छोड्ने गर्दैन । अतः मानिसलाई पैसा जति भए पनि पुग्दैन ।
“धन्यवाद दाजु ।” मैले भने, “त्यसोभए दाजु म अहिले लाग्छु है त ? भोलि बिहाल सवेरै आउछु है त ?”
त्यति भनि सकेर मैले मात्रै केही कदम चालेको थिए कि साहुजी बोली हाल्नु भो, “भोली ! अँ… हस् हस् ।”
यहाँ साहुजी किन अकमक्याए बुझ्न सकिन् । केही थाहा पाएर पनि अन्जान बनेका हुन् की भन्ने भान मेरो मनमस्तिष्कमा पस्यो । तर, आफुलाई आज घर चाँडो पुग्नु थियो त्यसकारण यो कुरालाई नसम्झीनु नै बेस ठानेँ ।
त्यसपछि म त्यहाँबाट हातमा पाँच सय लिएर बाहिरिएँ । त्यत्ति खेरै सम्झ्mीएँ, ग्यास भरेको पनि डेढ महिना भैसकेको थियो । बुढिले हिजो अस्ति देखि नै ग्यास किन्ने पैसा ल्याइसो है भन्दै थिइन् । अर्को तिर फेरि बाबुको परिक्षा पनि शिरमै थियो । पैसा नबुझाए सम्म परिक्षाको प्रवेश पत्र पाइदैनथ्यो । यति कुरा एक्कै चोटि सम्झीँदा त घर जान आँट नै आएन ।
त्यहीँ पनि बल्लतल्ल आफुलाई थाम्दै म घर पुगेँ । ढोका खोल्न पाको छैन छोरो कराइ हाल्यो, “ममि….ममि हेर्नु न, बाबा आउनु भयो ।”
ऊ खाटमा सिरक ओढेर पल्टेको थियो । म खाट नजिक पुगेँ र सोधेँ, “अनि बाबु स्कुल गइस् ?”
“अँ गएँ । अनि नि बाबा सुन्नुस्न, हाम्रो ट्याक्सीलाई सन्चै छ नि ?” उसले प्रश्न गर्यो ।
उसले यो प्रश्न सधैं जसो सोध्थ्यो । उसलाई सधैं ट्याक्सीको चिन्ता हुन्थ्यो । उसलाई उसको मावली घर पुगाउने त्यही ट्याक्सी जो थियो ।
“छ बाबु छ ।” मैले भने ।
एक्कासी झन टाउको दुखेर आयो । उभिएको मलाई नबसि नहुने भयो । बाबुको खट्ठा नजिक बस्नु पर्यो भनेर उसको खुट्ठाको साहरा लिएर बस्न मात्र के खोज्दै थिएँ की बाबु फेरी कराउँछ ।
“अ‍ैयाँ…बाबा ! अ‍ैयाँ….!”
त्यत्तिक्कैमा मैले हात हटाएँ । र, छोराको आवाज सुन्ने बित्तिकै बुढि पनि भान्साबाट आई पुगिन् र भनिन्, “के भो बाबु ? के भो ?”
“बाबाको हातले लाग्यो ।” छोराले त्यति भन्ने बित्तिकै मैले सोधी हाले, “होइन के भाको छ र यस्लाई ?”
मैले प्रश्न गर्ने बित्तिकै उसले भनिन्, “हेरिसो न आज खुट्ठो मर्काएर आएछ ।”
“अनि औषोधी ग¥यौ त ?” मैले तुरुन्तै सोधी हाले ।
“काँ गर्नु । पैसै थिएन । औषधी पसले दाइलाई सोधेको दुई हजार जति लाग्छ भन्नु भो म तर्सि हालेँ नि” उनले भनिन् ।
ऊनीले त्यति भनेपछि त मलाई पुगि हाल्योनि । खल्तीमा अघि साहुले दिएको ५०० र हिजो अस्तीको खुद्रा–खुद्री गरेर आठ÷नौ सयभन्दा थिएन । कसरी गर्ने होला इलाज ? भन्ने प्रश्न मस्तिष्कमा ठडियो ।
त्यत्तिकैमा बुढिले छोराको खुट्ठा देखाइन । घुँडा मुनि गोलीगाँठो माथी डम्म फुलेको रहेछ ।
त्यो देख्ने बित्तिकै म त छांगाबाट खसे झैं भएँ ।
त्यसपछि मैले तुरुन्तै बुढिलाई सोधि हाले, “पसले दाइले केही भन्नु हुन्थ्यो ?”
“मजाले तातो पानीले सेक्नु भन्दै हुनुहुन्थ्यो ।,” ऊनले अझैँ थप्दै भनिन्, “पैसा छ भने ब्यान्डेज लगाइ दिएर मलम पनि दिन्छु भन्दै हुनुहुन्थ्यो ।”
”अनि तिमीले के भन्यौ ?” तुरुन्तै सोधेँ ।
”के भन्नु नि । हस् दाइ बेलुका आउँला भनेँ !,” ऊनले अझै थप्दै भनिन्, “ तर दाइले पछि आज राती सेकेर हेर्नु अलिकता पनि सन्चो भएन भने भोली आउनु भन्नु भयो । ”
ऊनीले त्यसो भनेपछि मलाइ थोरै भएपनि आनन्द मिल्यो ।
त्यसपछि मैले ऊनीलाई झट्टै भने, “ल ठिक छ । आज कमाई पनि त्यति भएको होइन । भोलि लगौंला है त?”
मैले त्यसो भनेपछि ऊनी “हस्” भन्दै भान्सा तीर पसिन् । ऊनी भान्सा पसेपछि मैले छोरालाई बिस्तारै थोरै घुस्काएँ । टाउको एकदमै दुखेको हुँदा मबाट सहन् भएन, त्यसपछि म बाबुसँगै खाटमा पल्टीएँ ।
ग्यारेजबाट निस्कीदा ग्यास, चामलको मात्र पीर थियो, अब त छोराको इलाज गर्नु पर्ने पीर पनि थपियो । यस्तै–तेस्तै सोच्न लागेँ । त्यो सोच्दा–सोच्दै भुसुक्कै भएछु ।
उठ्दा आठ बजेको रहेछ । बाबु, मेरो साइडमा निदाइ सकेको रहेछ । बुढि, मेरो खुट्ठा नजिक बसेकी थिइन ।
मैले भने, “हेर आठ बजिसकेछ ! अघिनै उठाउनु पर्थेन ?”
“अँ… उठिस्यो हजुर ! अघि देखि खुट्ठा हल्लाएको हल्लाइ छु । उठ्या होइन ।”
“ए ! अलिक सन्चो थिएन के त्यै भएर हो । ल जाउ भान्सा तैयार गर, म आउँछु ।”
“त्यै भएर पो चाडो आइस्या रैछ ! ए..ए । ल..ल बिस्तारै आइसो ।”
त्यसपछि ऊनी भान्सा तिर लागिन्, म हात–मुख धुन सौचालय तर्फ लागेँ ।
हात–मुख धुएर म खाना खान बसेँ । हरेक गाँस मुखमा हाल्दा पैसा कसरी जुटाउने भन्ने चिन्ता लागि रहे थियो ।
त्यत्तिकैमा बुढिले भनिन्, “कस्तो बिस्तारै खाईसेको हौ ! के भो ?”
”के भाुछ र ? केही भाुछैन । हल्का बिस्नचो छु नि त्यै भएर हो ।” मैले भने ।
“ए.. अँ हुनसक्छ ।”
खाना खाई सकेपछि म सुत्न गएँ । ऊनी भाडाकुडा माझ्न तीर लागिन् । ओछ्यानमा पल्टीदा मैले भोली कसरी पैसा जुटाउँनु भन्ने सोची रहे ।
त्यै सोच्दा–सोच्दै फेरी भुसुक्कै भएछु ।
बिहान ठिक साढे तीन बजे उठिएछ । आज केही हल्का महसुस हुँदै थियो । हिजो राती सोचेका कुरा पुरा गर्ने दिन पनि थियो । म उठ्दा कोही उठेका थिएनन् । सधै म नै अगाडी बिउझीने गर्थेँ । र, परिवारको कोही नउठ्दै काममा गईसक्थँे ।
आज त झन मलाइ चाडै निस्कनु थियो । चाडै ग्यारेज पुगरे ट्याक्सी चाँडै चलाउँन पाए अलिक बढि पैसा कमिन्थ्यो की भन्ने थियो । साहु ८ बजे तिर मात्र आउँथे । धेरै जसो कामदार पनि म पुग्दा उठेका हुन्थेनन् । कहिलेकाही, कोही नउठेको बेला ग्यारेजको ढोका आफैले भित्तो चढेर छलाङ मारी खोल्नु पथ्र्यो । त्यति खेर रिसले चुर भइन्थ्यो ।
बिहानको नित्यकर्म सकि घरबाट हिड्दा चार बजि सकेको थियो । जाडो महिनामा फेरी ६-७ न बजि उज्यालो हुन्थेन । घरबाट ग्यारेज पुग्न २–३ मिनेट भन्दा बढि समय लाग्थेन । तर, आज झ्mन चाडो पुग्नु थियो । त्यसकारण खुट्ठाको चाल बढाएँ ।
म केही समयमै ग्यारेज पुगेँ । ढोका खुल्लै रहेछ । खुशी भएँ, आज फाल हान्नु परेन ।
भित्र छिर्दा मैले कसैलाई देखिन । ट्याक्सी, कार र बाइकले पुरै ग्यारेज भरिएको थियो । यति धेरै सवारी साधन एकसाथ देख्दा झसँगै परेँ । हिजो साहुजी अकमकाउनु, प्रधानमन्त्री अचानक नेपाल फर्किनु, यृवाहरुलाई बिभिन्न पोस्टरसँग देख्नु र अहिले यस्तो देखिनु यी सबै कुराहरुको केही सम्बन्ध छ की भन्ने घण्टी मस्तिष्कमा बज्यो ।
त्यो सम्झीँदै म अझैँ भित्र पसेँ । कोठाहरुको बत्ति झलमल्ल बलेको रहेछ । साएद कोही उठिसकेको हुनुपर्छ भन्ने भान रह्यो । म सरासर आफ्नो ट्याक्सीको पास पुगेँ । खल्तीबाट चाबी झिकीँ मैले ट्याक्सीको ढोका खोलेँ । ट्याक्सीमा बस्नै आँटेको थिए कि त्यहीँको एक कामदार भित्रबाट चिच्यायो, “को हो त्यहाँ ?”
“म हो भाइ । हरी ।” मैले भनेँ ।
उ सरासर बाहिर आयो । उ बाहिर आएपछि बल्ल थाहा भयो उ त कान्छो भाइ पो रहेछ । मतलब, ग्यारेजमा काम गर्ने सबैभन्दा कान्छो कामदार । ऊ मात्र १३-१४ वर्षको थियो ।
ऊ बाहिर आएर भन्यो, “ए दाजु हजुर पो ! तर, आज साहुले ट्याक्सी कसैलाई लैजान नदिनु भन्नु भएको छ ।”
“ए होर ? तर, किन ।” मैले सोधेँ ।
“खै ! मलाई केही भन्नु भाको छैन । मलाई त मात्रै ट्याक्सी कसैलाई लैजान नभन् भन्नु भयो । ”
“यसो गर्छु नि अहिले म जान्छु, दाइले मलाई फोन गरेर भन्नु भयो भने म फर्केर आउँछु ।” मैले त्यसो भनेपछि उसले केही प्रतिकृया दिएन । त्यसपछि म ट्याक्सी भित्र पसेँ । ढोका ढपक्याएँ । बिस्तारै स्टेरिङ घुमाएँ । स्पीड पनि १०,२०,३०…. गर्दै बढाएँ ।
ग्यारेजबाट निस्किदा साढे चार बज्नै आटेको थियो । ट्याक्सीलाई लिएर गौशला हुँदै चाबहिल पुगेँ । चाबहिलसम्म आउँदा मैले गाडी त परै जाओस् गाडीको घाइघुइ पनि सुनिन् । न त मेरो अगाडी नै कुनै गाडी थियो, न पछाडी नै । मात्र थियो त मेरो ट्याक्सी ।
मैले एक्कै चोटि ट्याक्सी चाबहिल गएर रोकेँ । र, मैले ठ्याक्कै हेल्पीङ ह्यान्डस् अगाडी ट्याक्सीलाई स्टयान्डमा राखेँ ।
ट्याक्सी स्टयान्डमा राखेको केही छिन पनि भएको थिएन की एक महिला मेरो ट्याक्सीको नजिक आइन् ।
र, ट्याक्सीको झ्याललाई ढक्ढक्यानईन् । त्यो देखेर मैले झ्याल खोल्न झ्याल खोल्न पाइडल घुमाएँ । झ्यालको सिसा तल झर्ने बित्तिकै ति महिलाले भनिन्, “दाइ कोटेश्वर सम्म जाने हो ?”
”जान त जान्छु तर, पैसा अलिक बढि लिन्छु । हुन्छ ?” मैले सोधेँ ।
”हुन्छ दाइ, दिन्छु । तर, जम छिटो हतार छ ।” ऊनी त्यसरी सजिलै मानेको देखी म ट्वाँ परेँ ।
मैले ढोका खोलीदिएँ । ऊनी पछाडीको सिटमा बसिन् । त्यसपछि मैले ट्याक्सी मोडेँ अनि तुफान किसिमले कुदाएँ । बिस्तारै बिस्तारै उज्यालो हुँदै थियो । तरपनि मैले कुनै सवारी चलेको देखिन ।
ट्याक्सी ७० कि.मि प्रति घण्टामा चलाउँदै थिएँ । त्यत्तिकैमा गौशला नजिक एक असईले ट्याक्सी रोक्न हात देखाए । त्यो देखेपछि मैले झ्याप्पै ब्रेक लगाएँ ।
असईले ट्याक्सी नजिक आएर भने, “के हो गुरुजी हतारमा छौ नि ?”
“चा–चाडो पैसा कमाउँनलाई नि साप ।”
मैले त्यति मात्र के भनेको थिएँ की उसको फोन बज्यो । त्यसपछि उसले मलाई हात हल्लाइ अघि बढ्न अनुरोध गर्यो ।
त्यसपछि मैले गाडी चलाएँ । एयरपोर्ट…तिनकुने हुँदै म कोटेश्वर पुगेँ । तिनी महिलासँग मैले पाँच सय रुपैयाँ मागेँ ।
ऊनीले मेरो हातमा हजारको नोट थमाउँदै भनिन्, “दाइ यो हजार रुपैयाँ पुरै राख्नुस ।”
ऊनीले हजार पुरै दिन खोजेको देखि मैले अचम्म मान्दै सोधेँ, “बहिनी म त्यतिसम्म पनि कंजुस छुइन । मलाइ पाँच सय भए पुग्छ ।”
मैले त्यति भनिसकेपछि फेरि उनले भनिन्, “मलाइ आफ्नो बहिनी मान्नु हुन्छ भने यति राख्नुस । अर्को एउटा कुरा भन्छु मान्नु हुन्छ दाइ ?”
उनले त्यति भनेपछि मैले चुपचाप शिर हल्लाएँ ।
“दाइ ट्याक्सी नचलाउनुस् ! एउटा बहिनीले दाइको बर्बादी भएको सुन्न÷हेर्न सक्दिन । यो पैसा राख्नुस अनि घर जानुस है ?”
उनले त्यति भनेर आफ्नो गन्तव्य तिर लागिन् ।
उनले त्यो भनेको सुनी म झन अचम्म परेँ । किन सबैले मसँग बिचित्रको कुरा गर्दैछन् झैं भयो ।
उनले दिएको पैसा मैले खल्तीमा राखेँ । र, ट्याक्सी घुमाएँ । जुन बाटो आए त्यही बाटो हुँदै ग्राहक खोज्दै जाने निर्णय गरेँ ।
साढे ५-६ बजिसकेको थियो ।
मानिसहरु प्रशस्तै सडकमा देख्न थालेँ । तर, गाडीहरु अझैँ देखेको थिइनँ ।
ट्याक्सी कोटेश्वरको मेनरोड हुँदै कुदाएँ । स्पीड कमै थियो । लगभग २०-३० । तिनकुने नजिक आएपछि मैले केही युवकहरुलाई देखेँ । केहीले हातमा डन्ठा लिएका थिए भने, केहीले मसाल लिएका थिए । त्यो देखेर म तर्सिएँ । मलाई उनीहरु बन्दकर्ता हो झैँ लाग्यो ।
त्यो देखेर मेरो दिमागमा प्रधानमन्त्रीको अपरझट् स्वदेश आउँने निर्णय देखि ति बहिनिले भनेका बात सम्झेँ ।
मनमा चिसो पस्यो । लाग्यो आज नै ट्याक्सीको अन्तीम दिन रहेछ । तर, हार भने मानेको थिइन ।
त्यसकारण, मैले स्पीड बढाउने निर्णय गरेँ । २०-३० मा हाँकीरहेको मैले स्पीड अब ६०-७० पुगाउने सोचेँ ।
ती हुल सय मिटर परै थिए । त्यति समय मलाइ प्रश्स्तै थियो ट्याक्सी हुईकाउँन । र, मैले सोही गरेँ । मैले सय मिटर वरैबाट ट्याक्सी हुईकाएँ ।
त्यसरी मेरो ट्याक्सी तुफानमा चलेर आउँदै गरेको देखि त्यहीँको एक युवकले देख्छ । उसले लाठ्ठी बोकेको थियो । ऊ त्यहीँ लाठ्ठीले सडकलाई बजार्दै मेरो ट्याक्सी हिडेको बाटोमा आईपुग्छ । ऊ मभन्दा करीब ५० मिटर पर मात्र थियो ।
उसले त्यहीँबाट चिच्याउँछ, “रोक् ! गाडी रोक् !!”
उसलाई त्यसरी चिच्याएको देखि अरु पनि सडकमा ओर्लिन्छन् ।
मसाल र लाठ्ठी देखेपछि मेरो पनि सात्तो उड्छ । ऊनीहरुको पुरै टोलीले मलाई रोक्न भित्तो खडा गर्छन् । मान्छे म किच्न सक्दिन थिए त्यसकारण मैले गाडी रोक्न बाध्य हुनुपर्यो ।
मैले ट्याक्सी रोकेपछि सबैले मेरो ट्याक्सीलाई घेरे । त्यसपछि कसैले मेरो झ्यालमा मुड्कीले हान्न थाले भने, कसैले साइड साइडमा लात्ता पनि हान्न थाले ।
कोही “किन चलाइस् ?” भनेर सोध्दै थिए त कोही “बाहिर निस्की !” भनेर भन्दै थिए ।
त्यत्तिकैमा एक युवक डिकी खोल्यो । झ्mसङ्ग भएँ ! त्यहाँ मैले फ्mलामको औजार राखेको थिएँ । त्यति मात्र के सोच्दै थिएकि, कसैले डिकीको सिसा झ्याम्मै फोड्दिन्छ । आफुले वर्षै देखि प्रयोग गरेको ट्याक्सीलाई त्यसरी कसैले हानेको देखेर मलाई सहन भएन । पारो तात्तिएर आयो । रिसले चुर भएँ र, ढोका खोली बाहिर निस्कीएँ ।
म बाहिर निस्कीने बित्तिकै मलाई सबैले घेरे । ती मध्य एकले “गाडी किन चलाइस् ?” भनेर प्रश्न ठड्यायो ।
मैले “समस्या परेर” भन्दा–भन्दै एकले मेरो घाँटी समात्यो । त्यो देखेर मैले “छोड्नुस ! यो के गर्नु भएको ?” भनेर सोध्दै थिए कि, कसैले मेरो गाडीको हेड लाइट फलामले हानी फोड्यो ।
त्यसपछि मैले मेरो घाँटी समाउँनेलाई धकालेर हेडलाइट फोड्नेको कलर समाती एक झापड हानेँ । त्यत्तिकैमा उ र मबीच मुडभेट हुन थाल्यो । अरुले मेरो ट्याक्सीलाई तोडफोड थियो । मैले देखेर पनि केही गर्न सकिन । मलाई अझैँ दुई–तीन व्यक्तिले समाउन थाले । त्यपछि म त हल्लीन पनि सकिन ।
त्यत्तिकैमा एकले मेरो ट्याक्सी उपर मट्ठितेल छक्रियो । त्यो देखेर मैले मद्दतको लागी चिच्याएँ । तर, आस पासका केहीले सुनेर पनि नसुने झैँ गरे ।
“भिख माग्छुँ ! मेरो ट्याक्सी बचाई देऊ ।” जस्ता अनेक विलाप गरेर रोए पनि त्यहाँ मानिस मुर्ति बनेका थिए ।
मेरो ट्याक्सी मेरै आँखाको अगाडी राख हुँदै थियो तर मैले केही गर्न सकेको थिइन । ट्याक्सीको राख हुनु सँगै मेरा जीवन पनि राख हुँदै थियो ।
केही बेर पछि ट्याक्सी पुरै खरानीमा परिणत भयो । बन्दकर्ताले मेरो हात छोड्दिन्छन ।
ट्याक्सी त्यसरी खरानी भएको देखि सधैं छोराले सोध्ने प्रश्न सोच्दै म बेहोसिएँ ।

5400
Shares

ट्रेन्डिङ