सबैको समाचार
बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • मंकर सक्रान्ति पर्वको महिमा ( संक्रान्ति विशेष)

मंकर सक्रान्ति पर्वको महिमा ( संक्रान्ति विशेष)

6140
Shares
मंकर सक्रान्ति पर्वको महिमा ( संक्रान्ति विशेष)

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । आज देखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समय दिनभन्दा रात छोटा हुँदै जाने भएकाले उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
माघे संक्रान्ति नेपालको एक प्रमुख चाडर्वको रुपमा लिइन्छ । यो पर्वलाइ मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ ।
यस पर्वमा नेपालको प्रमुख धार्मिक स्थलहरु देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्ने श्रद्धालुहरुकोे ठूलो भिड लाग्छ ।
साथै हिन्दु धार्मिक ग्रन्थ भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख ।
ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा बग्ने प्रसिद्ध धार्मिक नदी काबेलीमा हिन्दू धर्मावलम्बीले आज मकर स्नान गर्ने गर्दछन् । काबेली नदीलाई काबेली माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा हुने बिस्वास गर्दै भाकल गर्ने ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्लाका स्थानिय हिन्दु धर्मावलम्बी नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।
इलाम जिल्लाको माइबेनीमा पनि मेला लाग्ने गर्दछ । सदरमुकामबाट पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै भारतका व्यापारीहरू समेत मेलामा आई पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्व रहेको छ । उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य पनि प्रस्तुत गर्ने गरेको पाइन्छ ।
झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ ।
कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दाजिर्लिंग र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।
सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।
मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ–आफ्ना जजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
थारु समुदायमा माघी
नेपालको थारु समुदायले यस पर्वलाई माघी भनेर मनाउने गर्दछन् र नयाँ वर्षको रुपमा मनाउने गरेको पाइन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ ।
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड(रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।
यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ ।
यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ ।
प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ ।
आजको दिन विभिन्न किसिमका परिकार बनाई आफ्ना दिदीबहिनीलाई निश्राउ अर्थात् कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ ।
वाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ । साथै यो पर्वको अवसरमा गाउँमा नयाँ अगुवा अर्थात् वडघर चुन्ने समेत गरिन्छ ।

6140
Shares

ट्रेन्डिङ