उपकरण नै आयात नगरी कर छलिएका मोबाइल फोनहरु नेपालमा नचल्ने प्रविधि लागू गरेको भनी नेपाल दूरसञ्चार प्राधिकरणले प्रचार गरेको छ ।
२० कात्तिकदेखि कर छलेर नेपाल भित्र्याइएका फोन निष्क्रिय बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरुपमा लागू भएको घोषणा गरिएको थियो ।
प्राधिकरणले अहिलेसम्म दर्ता नगरिएका र कर छलिएका भनेर करिब ८०४ वटा फोन नचल्ने भनी बन्द गराएको घोषणा गरेको छ । ती फोनहरु प्राधिकरणले आफ्नो प्रणालीबाट नभई मोबाइल सेवा प्रदायक कम्पनी (अपरेटर)हरुलाई सूची पठाएर बन्द गर्न लगाएको नेपाल टेलिकम स्रोतले बताएको छ ।
नेपाल टेलिकम स्रोतले प्राधिकरणबाट हरेक मोबाइल अपरेटर कम्पनीलाई मौखिक निर्देशन दिएर त्यस्ता फोनको आईएमईआई नम्बरहरु पठाइएको र त्यसैगरी सूची आएको आधारमा नम्बर हेरेर फोन सेट नचल्ने बनाइएको , प्राधिकरण आफूले फोन निष्कृय नबनाएको बताएको छ ।