अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा महोत्तरीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएको घटना सार्वजानिक भएको छ ।
समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गराएको हो ।
कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो । लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गरिएको थियो ।
त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजना भएको थियो । भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।
स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् ।