राजन कार्की
स्वाभिमान जगाएर नेपालीपन बचाउने कि नबचाउने ? यसका लागि कि हस्तक्षेप गरौं, कि देशको मलामी जान तैयार हौं । समयले मृत्युघण्ट बजायो । परिचयसहित बाँच्ने कि मृत्युबरण गर्ने ? निर्णय नेपाली हुँ भन्ने जो कसैले गर्ने बेला आयो ।
निरंकूशता फालेर ल्याएको लोकतन्त्र हिटलरतन्त्र पो परेछ । एउटा व्यवस्था निरंकूश भनेर फालियो र बहुदल ल्याइयो । बहुदल बहुलायो, अचाक्ली भ्रष्टाचार अर्थात बहुदलीय शासनकाल भ्रष्टाचारकाल भनेर आज पनि बदनाम छ । सानो कार्यकालका लागि राजाले शासन हातमा लिए, उनमा सोच थियो, बोध हुनसकेन ।
अर्थात राजतन्त्रले जनतालाई बुझाउनै सकेन र राजनीतिक दल र विदेशी छलको समायोजनले राजतन्त्रलाई सामन्त र निरंकूशताको पहाड बनाएर बदनाम गरिदियो । जसका कारण आमनागरिक घरघरबाट सडकमा निस्किए । निरंकूशता र सामन्तको अन्त्यका लागि ऐतिहासिक आन्दोलन देखियो । ऐतिहासिक यस अर्थमा पनि कि जनयुद्ध गरिरहेको माओवादीसमेत यो आन्दोलनमा उत्रियो र राजतन्त्र फालेपछि आफ्नो जगजगी हुने सपना देखेर जंगलबाट लोकतन्त्र भन्दै सडकमा आएको हो ।
आन्दोलन सफल भयो । गणतन्त्र आयो, गणतन्त्र नामको नेतातन्त्रले हिन्दुराष्ट्र खायो, राजतन्त्र खायो र जनताको शान्तिसुरक्षा अमनचैन खायो । अव देश निल्ने सुरसार गर्दैछ । सुरसाको मुखजत्रो भइसक्यो नेतातन्त्रको महामारी । लोकतन्त्रमा लोकनेता हुनुपर्ने हो, भ्रष्ट नेता पो जन्मिए । स्याउँस्याउँ । जता हेर्यो उतै भ्रष्टाचार, जता हेर्यो उतै कूशासन । कस्तो दशासनहरुको हातमा परेछ नि लोकतन्त्र, गरिमा र महिमा नै समाप्त भयो लोकतन्त्रको ।
नेता मोटाघाटा खाइलाग्दा भएर के गर्नु, देश र जनता हरिकंगाल हुँदै गएका छन् ।
नेताहरुको बोलवाला भएर के गर्नु, देश र जनता कायल र घायल भइरहेका छन् । स्वार्थ हेर्ने सबै भए, देश र जनता भन्ने कोही भएनन् । लुटियो, देश लुटियो । चुटिए, जनता चुटिए । फुट्यो, देशको एकता र अखण्डता फुट्यो ।
जर्मनीमा विस्मार्क भन्दा कम थिएनन् नेपालका पृथ्वीनारायण शाह । इटलीका ग्यारीवाल्डीभन्दा सुरवीर, महत्वकांक्षी र देशभक्त थिए महेन्द्र । आफूलाई नेपाली भन्छन्, नेपाल निर्माता पृथ्वीनारायण शाहलाई बिस्तारवादीको आरोप लगाउूछन् । महेन्द्रलाई प्रजातन्त्रको दुश्मन भनेर थाक्दैनन, त्यही महेन्द्रको विकासमा नाक फुलाएर शासन गरिरहेका छन् ।
पृथ्वीनारायण शाहले नेपाल निर्माण गरिदिए, महेन्द्रले नेपालीत्वको जगेर्ना गरिदिए, त्यो नेपाल बचाउनेसम्म पनि कोही भएनन् । सबै मौकामा चौका हान्न र लखनौं लूटमा मस्त छन्, व्यस्त छन् । देशको अस्तव्यस्तता, लथालिंगतालाई समाल्ने, सुधार्ने एकजना नेता पनि देख्न पाइएन ।
राजनीति बिग्रेपछि देश विग्रन्छ । यसैले राजनीतिलाई नीतिहमा राजा भनिएको हो । मूलको पानी र कूलको छोरी भनेर संस्कारको कथन छ समाजमा । राजनीति मूल हो, यो बिटुलो हुँदा, बिग्रदा देशको शासन, प्रशासन अस्तव्यस्त भएको छ ।
स्पेनलाई इसावेल र फर्डिनान्डले सम्पन्न बनाइदिए, शक्तिशाली बृटेनलाई चर्चिलले जग हालिदिए, हाम्रा नेताहरु विदेशी नेताको फोटोमा आरती उतार्छन्, आफू राजनेता बन्न र देशको गुणगान गाउन चाहदैनन् । यिनै नेताहरु आफूलाई देशभक्तीको ठेकेदार ठान्छन् । कठै हाम्रा नेताहरु, यिनको चर्तिकला देखेर दया लाग्छ ।
बिस्तारवादको तलुवाचाट्नेहरु विदेशीका सामु लम्पसार परेर अहिले पनि भ्रमको खेती गरिरहेका छन् र राज्यशक्तिमा ढसमस्स बसेर डुङडुङ्ती गनाइरहेछन् ।
१० वर्षे जनयुद्ध जनआन्दोलनमा रुपान्तरण भएर लोकतन्त्रको सुरुआत हुूदा हामी सबैले माओको चीनमाजस्तै अव नेपालमा पनि आर्थिक विकासको मूल फुटाउने देङसियाओ पिङ जन्मने सपना देखेका थियौं । हाम्रा जनयुद्ध र जनआन्दोलनको राजनीतिक भुङ्ग्रोमा खारिएर निस्केका नेताहरुले मलेसियाको आर्थिक कायापलट गर्ने महाथीर महोमद वा रछ्यानमा भातका सिता टिपेर खाने कोरियाली जनतालाई सम्पन्नताको शिखरमा पुर्याउने पार्क गुन हेलाई माथ गर्नेछन् भन्ने विश्वास गरिएको हो ।
दक्षिण अफ्रिकालाई नेल्शन मण्डेलाले मानवाधिकारको शिखरमा पुर्याइदिए । नेपालमा पनि नेल्शन मण्डेला भनिने नेताहरु छन् । तिनीहरु स्वार्थको माला जपिरहेका छन् । देशको माला जप्ने, जनताको जयगान गाउने किन कुनै नेता छैनन् ? किनभने नेतामा हुनैपर्ने ठूलो गुण चरित्र हो, हाम्रा नेताहरु चरित्रहीन छन् । यिनको राजनीतिक अभिष्ट भनेकै नङ्गा नाचे हजार दाउ हो ।
जनयुद्धको मैदान नेपाल हो, जनआन्दोलनको मैदान पनि नेपाल हो । जनताको साथ लिएर राजतन्त्र झुकाउने र विस्तारवादीलाई सवक सिकाउने माटो पनि नेपाल हो । तर, ०६३ सालको परिवर्तनपछि जनयुद्धको लाभ भारतले लियो, जनआन्दोलनको शुभलाभ पनि भारतलाई नै पर्यो । विस्तारवादको सबक सिकाउने नेताहरु बिस्तारवादको खेताला बन्न पुगेपछि माटो खतरामा छ, देशभक्ति खतरामा छ, स्वाधीनता र सार्वभौमिकता पनि खतरामा परेको अनुभव हुन थालिसक्यो ।
यसैवीच मिलेर बसेका हिमाली, पहाडी र मधेसीलाई पनि अलग अलग पार्ने साजिस गर्न थालेको छ विस्तारवाद । एकता बिथोलिदिएपछि राष्ट्रले अस्तित्व र सतित्व कसरी बचाइराख्न सक्ला र ? देशलाई सम्पन्न, शक्तिशाली र सहज बनाउने नेतृत्वले हो । हाम्रो नेतृत्व न मेहनती भयो, न मानवीय मूल्यमा खरो उत्रियो, न समृद्धिको अर्जुनदृष्टि नै राख्न सक्यो । छानोमा आगो सल्काएर खरानी बेच्ने बनिया र हाम्रा नेतामा भिन्नता देखिन्न ।
राष्ट्रिय नीति, उद्देश्य, योजनामात्र होइन, शान्तिव्यवस्थासमेत नराम्ररी खलबलिन पुगेको छ । लोकतन्त्रमा चरित्र मूल्यवान हुन्छ, त्यो मूल्यवान चरित्रको अभाव स्यालको सिङ् हराए जसरी हराएको छ । लोकतन्त्र आम नागरिकका लागि इन्तु न चिन्तुको व्यवस्था साबित भइसक्यो ।
विश्वका जो कसैले नेपाल हेर्यो, देख्यो, उसका लागि नेपाल प्राकृतिक सुन्दरताको खानी हो । यो सुन्दरतामाथि विस्तारवाद बलात्कार गर्दैछ, विकसित राष्ट्रहरु हामीलाई खेलाउन, उचाल्न र पछार्न लागिपरेका छन् । नेपाल, प्राकृतिक रुपमा संसारमै सुन्दर त छ नै, आधुनिक सामरिक महत्वको भूमि पनि हो ।
स्ट्राटफरजस्ता सैनिक विश्लेषक संस्थाको किटानी रिपोर्ट पनि नेपाली भूमिबाट एसिया कन्ट्रोल गर्न सकिन्छ भन्ने छ । यसबाट नेपालको महत्व कति छ, भनिरहनु पर्दैन । यसैले उत्तर र दक्षिणमात्र होइन, पश्चिमाहरु पनि नेपालमा कूटनीतिक अड्डा जमाएर राजनीति बगारिरहेका छन् ।
नेपाल यसै गरेर असंलग्नबाट कहिले कता, कहिले कता संलग्न हुँदै जाने र नेपालीत्व नेताहरुको लहडमा जोखिममा पार्दै जाने हो भने कहिल्यै कसैको उपनिवेश नबनेको नेपाल यतिखेर अघोषित उपनिवेशजस्तो त भइसक्यो, चित्रबहादुर केसीले भनेअनुसार अव नेपाल नरहन सक्ने वातावरण बनिसक्यो ।
एउटा जनयुद्धले १७ हजार मारिए, अव नरसंहार भयो भने कति मारिएलान् ? देशै रहला कि नरहला ? नेपाल बिग्रनुमा नेतृत्व भ्रष्ट भएर हो । यो निष्कर्ष एम्नेष्टी, ट्रान्सप्यारेन्सीदेखि स्वतन्त्र पर्यवेक्षकहरुको हो । नेपालमा विकासका नाममा, सुशासनका नाममा, न्याय र समानताका नाममा कामभन्दा बढी कागजी घोडा दौडाइन्छ ।
जहा गजी घोडा दौडिन्छ, त्यहा विकास भाषणमा मात्र सिमित हुनु स्वभाविक हो । नेपालमा अपार स्रोत, साधन, क्षमता, योग्यता केही कुराको कमी छैन । कमी छ त इच्छाशक्ति र इमान्दारिताको ।
हो, आमनेपाली स्वाभिमानी छन्, सहनशील छन् र सरल छन् । शायद लडाकु जातिको पहिचान यही हो । यस्ता जनताका नेता कस्ता ? जनताको यही प्रवृत्तिले नेताहरुलाई नैतिकहीन बनाइसकेको छ । जसको महगो मूल्य राष्ट्र र जनताले चुकाउन थालिसकेको छ । जनयुद्धमा भारत जम्यो, ज्यान नेपालीको गयो । परिवर्तनपछि अवसरवादी र विदेशी हावी भए, हार नेपाल र नेपालीको हुँदैछ ।
नेतृत्व परजीवी भइदिएपछि नेपालको विमारी सुरु भयो, नेपाल बिग्रदै बिग्रदै गयो । व्यवस्था नीतिमा चल्नुपर्छ । राष्ट्रसूग राष्ट्रिय नीति हुनुपर्छ । वर्तमान कालखण्डमा न व्यवस्था व्यवस्थित छ, न नीति नै कायम छ । कुनै पनि क्षेत्र नीतिमा बाँधिएको छैन । नेता नीतिमा नबाँधिएपछि सुशासन कूशासनमा स्वत: रुपान्तरण हुनेरहेछ । अग्लो नेतृत्व स्वार्थलम्पट भएपछि कसरी धरासायी हुनेरहेछ ।
फलामलाई खियाले खान्छ, नेतृत्वलाई स्वार्थले सिध्याउने रहेछ । नेतृत्व सिद्धिए हुन्थ्यो, यहाँ त देशै सिद्धिन बेर नलाग्ने आहड सुनिन थाल्यो । नेताहरुमा जनयुद्ध र जनआन्दोलन गर्ने क्षमता र आत्मबल, यतिबेला भिजेको परालजस्तो बन्न पुगेको छ । यिनीहरुभित्र रहेको राजनेता बन्छु भन्ने तत्कालीन सपना शोम शर्माको घैंटो बनिसकेको छ । राणा र राजालाई सत्तोसराप गरेर मात्र के गर्नु, तिनको जत्ति पनि राष्ट्रभक्ति वर्तमान नेतृत्व एकजनामा पनि छैन ।
जनताले खबरदार गर्नुपर्यो, युवाहरुले राष्ट्रघातीहरुलाई दण्डित गर्नुपर्यो र राष्ट्रियताको जागरण गर्नुपर्यो । यति भए नेपाल बाँच्छ, नेपाली बाँच्छन् र यही स्वाभिमानले नेपाल बन्छ ।