सबैको समाचार
बुधबार, बैशाख १२, २०८१

आज सरस्वती पूजा

4710
Shares
आज सरस्वती पूजा

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यो दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
आजैका दिन उपत्यकाका स्वयम्भू, मैतीदेवी, विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा मेला लाग्छ । शैक्षिक संस्था, तालिम केन्द्र, गुरुकुल लगायतमा यो दिन सरस्वतीको आराधना गर्ने गराउने प्रचलन चलि आएको छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले सरस्वतीलाई पुकारिन्छ ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्ङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्व्सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्छ ।

4710
Shares

ट्रेन्डिङ