धुलिखेल, २१ साउन : धुलिखेल नगरपालिका मेयर अशोक ब्याञ्जु किसानको समस्या बुझ्न खेतबारीमै पुग्नुभएको छ । बुधबार मेयर ब्याञ्जुले वडा नम्बर २ रविओपीका किसानसँग सामुहिक छलफल गरेपछि खेतबारीमै पुगेर नयाँ प्रविधि मार्फत खेती गरिरहेका किसानलाई भेट गर्नुभएको हो ।
उहाँले किसानलाई प्रत्यक्ष भेटेर मल, बीउको अवस्थाका बारे पनि चासो राख्नु भएको थियो । नगरपालिकाको कृषि शाखाको प्रमुख मन्दिल कृष्ण श्रेष्ठलाई साथमै लिएर किसानको बारीमा पुग्नुभएका मेयर ब्याञ्जुले खेती लगाउँदा भोग्नु परेको विविध समस्या जानकारी लिनुभएको थियो । मेयर ब्याञ्जुले नगरपालिकाभित्र कृषिको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले सञ्चालन गरेका गतिविधि र किसानले सिकेको सीपका बारेपनि चोसो राख्नुभएको छ ।
खेतबारीमै पुगेका मेयर ब्याञ्जुलाई किसानले आफ्नो समस्या राखेका थिए । किसानहरुले सडकको सहज पहुँच नहुँदा उत्पादन भएको तरकारी बजारसम्म लैजान नसक्दा नोक्सानी ब्यहोर्नु परिरहेको भन्दै मेयरसँग गुनासो राखेका थिए । त्यस्तै सिँचाईको राम्रो ब्यवस्था नहुदाँ सोचे जस्तो लगानी गर्न नपाएको किसानहरुको गुनासो थियो ।
किसानको गुनासो सुन्नु भएका मेयर ब्याञ्जुले सिँचाईको लागि डिपबोरिङ निर्माण भइरहेको बताउनुभयो । त्यस्तै सडकका लागि पनि वडाका जनप्रतिनिधिहरुसँग बसेर किसानलाई सजिलो हुने गरी नै काम गर्ने बताउनुभयो ।
‘किसानलाई आधुनिक ढंगले कृषिका सीप र प्रविधि हस्तान्तरण गर्ने नगरपालिकाको उद्देश्य नै हो, त्यहि अनुसार विभिन्न संघसंस्थाले साझेदारीमा काम पनि गरिरहेका छन्, उहाँले भन्नु भयो ‘किसानलाई कम लगानीमा धेरै आम्दानी कसरी गर्न सकिन्छ भन्ने बारे नगरपालिकाले विभिन्न काम गरिरहेको छ ।’