काठमाडौँ । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ ।
अवधारणाकै अभावमा नीति र कानुन पनि बन्न समस्या भएको सन्दर्भमा ती सबैको आधार तय गर्न सरकारले पहिलो पटक यससम्बन्धी अवधारणापत्र तयार गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।
समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इञ्जिनीयरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इञ्जिनीयर सूर्यप्रकाश उपाध्याय रहेका थिए ।
गत माघ ५ गते गठित समितिले अवधारणापत्रसम्बन्धी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको छ । प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ ।
साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने सुझावसहित प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनी आधारसहित डाटा सुरक्षण रूपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका नीति र कानुनहरूको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलन हुने गरी मानक निर्धारण गर्न पनि सुझाएको छ ।
गोपनीयता संरक्षण, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन, एआई प्रयोगको विकास र प्रवर्धनलगायतका विषयमा अनुसन्धान, लगानी र सहकार्यलाई वृद्धि गर्ने रणनीति बनाउनुपर्ने सुझाव छ । यसका लागि तत् तत् क्षेत्रले आफ्नो नीति, रणनीति र कार्यक्रममा एआई प्रयोगको विकास र प्रवर्धनलाई प्राथमिकतामा राख्नुपर्ने सिफारिस छ ।
प्रतिवेदनमा युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, नर्डिक–बाल्टिक क्षेत्र, युएई, भारत, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, सिङ्गापुर, दक्षिण कोरियालगायतले जारी गरेका एआई प्रयोगसम्बन्धी रणनीतिको अध्ययन गरी तुलनात्मक विश्लेषण समावेश गरिएको छ ।
गत माघ ५ गते सञ्चार मन्त्रालयले यससम्बन्धी कानुन निर्माण गर्न गठन गरेको पाँच सदस्यीय प्राविधिक समितिले झन्डै पाँच महिनापछि अवधारणापत्र तयार गरेको हो ।