सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सशस्त्र प्रहरी महानिरीक्षक राईबाट खेलाडीहरुलाई पुरस्कार प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राईबाट खेलाडीहरुलाई पुरस्कार प्रदान

6750
Shares
सशस्त्र प्रहरी महानिरीक्षक राईबाट खेलाडीहरुलाई पुरस्कार प्रदान

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित राष्ट्रिय स्तरको ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’, ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ र ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहका वीच सो प्रतियोगिताको माघ २० गते समापन गर्नुका साथै विजयी टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार, पदक तथा ट्रफि प्रदान गर्नुभयो ।
साथै सोहि समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राईले पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी जयनारायण चौधरीलाई अभिनन्दन पत्रसहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राईले भलिबलतर्फ उत्कृष्ट प्रदर्शन गरि सर्वोत्कृष्ट हुन सफल न्यु डायमण्ड एकेडेमीकी प्रतिभा मालीलाई स्कूटरको साँचो प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन धावक मिरा राईलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी उहाँले पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी जयनारायण चौधरीकी जीवन संगिनी मुना राई चौधरी, जापानी अतिथि तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी आसुका इचिजो र मिवाको कावावातालाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
अवकाश प्राप्त कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामा, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष श्रीमती ज्योती राणा, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा लगायतले पनि प्रतियोगिताका बिजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार, पदक तथा ट्रफि प्रदान गर्नुभएको थियो ।
भलिबलतर्फको आजै सम्पन्न फाइनल खेलमा न्यू डाइमण्ड एकेडेमीले नेपाल एपीएफ क्लबलाई १५– २५, २५–२३, २५–१६, १६–२५ र १५–१२ को अन्तरले पराजित गरी उपाधि हात पार्न सफल भएको छ । प्रतियोगितामा तेस्रो स्थान पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले हासिल गरेको छ ।
प्रथम स्थान हासिल गरेको न्यू डाइमण्ड एकेडेमीले दुई लाख ५० हजार रुपैयाँसहित ट्रफि हात पारेको छ भने दोस्रो हुने नेपाल एपीएफ क्लबले एक लाख २५ हजार रुपैयाँ तथा तेस्रो हुने पश्चिमाञ्चल भलिबल संघले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्ड एकेडेमीकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर नेपाल एपीएफ क्लवकी सरस्वती चौधरी, उत्कृष्ट सर्भर न्यू डायमण्ड एकेडेमीकी कृपा अधिकारी, उत्कृष्ट डिफेन्स न्यू डायमण्ड एकेडेमीकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर नेपाल एपीएफ क्लबकी नेविका चौधरी, उत्कृष्ट सेटर नेपाल एपीएफ क्लवकी विनिता बुढाथोकी र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्ड एकेडेमीका कुमार राई घोषित भएका छन् ।
यसैगरी प्रधान कार्यालयमै सम्पन्न ‘13 राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ को पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग प्रथम भएका छन् । उनले सोही क्लवकै नविन श्रेष्ठलाई २१–१७, २१–९ ले पराजित गरि उपाधि हात पारेका छन् ।
यसैगरी महिला एकलतर्फको फाइनल खेलमा त्रिभवन आर्मी क्लबकी नङ्गशलदेवी तामाङ्गले नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले पराजित गरि प्रथम भएकी छन् ।
प्रतियोगिताको पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले पराजित गरि प्रथम भएको छ ।
सो प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम हुनेलाई नगद ६० हजार रुपैयाँ, महिला एकलतर्फ प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ तथा पुरुष युगलतर्फ प्रथम हुनेलाई जनही २५ हजार रुपैयाँ तथा प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।
यसैगरी ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’मा पुरुष एकलतर्फको खेलमा प्रथम भएका समरक्षकभूषण बज्राचार्य तथा महिला एकलतर्फको खेलमा प्रथम हुन सफल मायांका राणालाई सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोहि समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै अफिसियल तथा व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

लनटेनिस प्रतियोगितामा पुरुष एकल तथा महिला एकलतर्फको इभेन्ट्समा प्रथम हुन सफल खेलाडीले जनही ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । सोहि समारोहमा व्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी समेत रहनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले प्रायोजन गर्नुभएको ‘उदयमान व्याडमिन्टन खेलाडी पुरस्कार’ प्रिन्स दाहाललाई प्रदान गरिएको छ ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राईले मन्तव्यको क्रममा आफ्नो खेल जीवनको स्मरण गर्नुहुँदै खेलाडीहरुले देखाएको उच्च अनुशासन र उत्कृष्ट खेल प्रदर्शनको प्रसंसा गर्नुभयो ।
भलिबलका अन्तर्राष्ट्रिय खेलाडी समेत रहनु भएका उहाँले आगामी दिनमा समेत आफु नेपाली खेलकुदको विकासमा लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संगठनले छोटो समयमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल भएको चर्चा गर्नुभयो । यसका साथै उहाँले आगामी दिनमा समेत संगठनले खेलकुद क्षेत्रमा अझै उत्कृष्ट योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, जीतबहादुर पुन, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु लगायत खेलकुद सँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

6750
Shares

ट्रेन्डिङ