काभ्रे । जिल्लाको ठूलो अस्पतालको रुपमा र स्वास्थ्य बिमा समेत लागू धुलिखेल अस्पतालमा जेनोप्लान प्रविधि सुरु भएको छ । आफ्नो शरिरमा एक दशक पछिसम्म कुन खाले रोग लाग्न सक्छ भनेर यो प्रविधिबाट थाहा हुने मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालले जानकारी दिएको हो ।
यस प्रविधिबाट मानिसको मुख भित्रको स्वाब (यालको स्वाब ) निकालेर त्यसलाई परिक्षण गरेर वंशाणुगत रोग,क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह,उच्च रक्तचाप,उच्च कोलेस्टोरोल ) आदि लाग्न सक्ने अवस्थाको आँकलन गरिन्छ ।
पाँच वर्ष माथिका सबै उमेर समुहका मानिसहरुलाई परिक्षण गर्न मिल्ने यो कोरियन प्रविधि हो । तत्काल स्वाब लिएर जाँचका लागि कोरिया पठाउने गरिएको अस्पतालले जनाएको छ ।
यसका लागि अत्याधुनिक मेसिन र विषयगत तालिमप्राप्त जनशक्ति आवश्यक पर्ने हुनाले अस्पतालमा ल्याब राख्न नसकिएको र यसै वर्ष अस्पातालबाटै जाँच गर्ने गरि ल्याब राख्न प्रयास भईरहेको धुलिखेल अस्पतालका गाईनोकोलोजिस्ट प्रा.डा.आभा श्रेष्ठले जानकारी दिईन् ।
उनले यसरी आफ्नो शरिरमा कुनै रोग लाग्न सक्ने जोखिम थाहा पाएपछि समयमै रोकथामका उपायहरु अपनाउन सकिने हुनाले दिर्घ रोग लाग्न नपाउने वा त्यसलाई समयमै सम्बोधन गर्न सकिने स्पस्ट पारिन् ।
मानिसको स्वाब लिएको २ हप्तापछी रिजल्ट आउने यस प्रविधि नेपालमै पहिलो धुलिखेल अस्पतालबाट सुरु गरिएको हो । यसैगरी अस्पतालले अप्टिकल फाइबरयुक्त दूरबिन मुत्रनली मार्फत भित्र पठाएर मिर्गौलामा रहेको पत्थरी लेजर प्रविधिबाट फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधिको सुरुवात समेत गरेको छ ।
यो इन्डोस्कोप पिसाव खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पु¥याउन सकिने भएकाले पेटमा कुनै घाउ बनाउन नपर्ने धुलिखेल अस्पतालका युरोसर्जन डा.सुजन माकजुले जानकारी दिए ।
यो प्रविधि मिर्गौलाको पत्थरी मात्र नभएर पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थि सुन्निने समस्यामा ग्रन्थि खुर्किने कामका लागि पनि निकै उपयुक्त भएको अस्पतालले जनाएको छ । यस प्रविधिबाट फुटाइएको पत्थरी बालुवा सरह मसिनो हुने भएकोले उपचारपछि पत्थरी अड्किने तथा पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाब सङ्क्रमण हुने जोखिम पनि निकै कम भएको युरोसर्जन डा.सुजन माकजुले जानकारी दिए ।