काठमाडौँ । गायक प्रकाश सपुतले जुन गीत बजारमा ल्याउँछन्, केही न केही विवादमा मुछिएकै हुन्छ । गीतमा देखाइएका चरित्र हुन् या उठाइएका मुद्दा, बहसको कठघराभन्दा बाहिर छैनन् । चाहे त्यो ‘पीर’ होस् या ‘सकम्बरी’ ।
‘गलबन्दी’ हुँदै ‘कुरा बुझ्नुपर्छ’ देखि ‘दमाई महाराजा’ सम्म आइपुग्दा उनका हरेक गीत खरो आलोचनामा परेका छन् । त्यसो त ‘बोलमाया’, ‘बद्ला बरिलै’ का सकारात्मक प्रतिक्रियाले उनी चर्चाको शिखरमा पनि पुगे ।
उनका गीतले बहस, विमर्श सिर्जना गरिरहन्छ । सायद, गीतकै कारण चर्चामा आइरहनु प्रकाशको नियति नै बनेको छ । हरेक सिर्जना विवादमा तानिँदा प्रकाशलाई भने आफ्नो ‘ग्रह’ नै बिग्रिएको हो कि भन्ने लाग्दो रहेछ । ‘हरेक सिर्जनाहरू सफल छन् । तर मैले अहिलेसम्म कहिल्यै कुनै सफलताको खुसियाली मनाउन पाएको छैन,’ मुख अमिलो बनाउँदै उनले भने ।
गीत मात्रै होइन पछिल्लो समय उनी अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले समेत प्रकाशलाई विवादमा तान्यो । यो फिल्मले देशदेखि विदेशी बक्स अफिसमा आक्रामक व्यापार गर्दै सर्वाधिक कमाइको नयाँ कीर्तिमान बनाइरहेको छ । हलमा यस फिल्मको दर्शक चाप अझै उस्तै छ भने, फिल्म हेरेर रुनेको पनि कमी छैन । तर, यस्तोमा पनि फिल्मका महत्त्वपूर्ण कलाकार बनेका प्रकाशलाई दर्शकले भने गाली गर्न छाडेका छैनन् ।
‘फिल्मले करोड करोडको व्यापार गरिरहँदा मलाई भने केही व्यक्तिहरूले गरेको आलोचनाले दुःखी बनाएको थियो । मेरो हरेक सिर्जना सफल छन्, हरेकको व्यावसायिक सफलता राम्रो छ ।
अधिकांश दर्शकको उत्तिकै माया पनि पाएको छु । तर मनबाट यी सिर्जनाहरूको सफलतामा खुसियाली मनाउन पाएको छैन,’ प्रकाशले भने, ‘अहिलेसम्म नियत खराब बनाइनँ, त्यसैले चलिरहेको छु ।’