वीरेन्द्रनगर । जाजरकोटमा सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा ४ जना घाइते भएका छन् ।
जुनिचाँदे गाउँपालिका-२ को देसीपाटास्थित विश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडादेखि मजकोट जाने सडक मर्मत गर्ने क्रममा शनिबार स्थानीय मजदुर माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा घाइते भएका हुन् ।
घाइते हुनेमा जुनिचाँदे गाउँपालिका-२ का ३२ वर्षीय रामबहादुर वड, सोही ठाउँकी २५ वर्षकी निर्मला शाही, २२ वर्षकी फूलमाया लुहार, ३५ वर्षका नरबहादुर वड रहेका छन् ।उनीहरूमध्ये रामबहादुर, निर्मला र नरबहादुरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले बताए ।
उनका अनुसार शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेको हो। उनीहरूलाई नजिकैको एक विद्यालयमा राखिएको छ ।
स्थानीय स्वास्थ्यकर्मी पुगेर प्राथमिक उपचार गरिरहेका छन् । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।