पुजन धिताल / काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिकाले २० महिलालाई महिला दिवसको अवसरमा सम्मानित गरेको छ। धुलिखेल नगरपालिकाको आयोजनामा भएको ११५औँ महिला दिवसको अवसरमा आयोजित सभामार्फत कान्तिपुर टिभीकी समाचार वाचिका रुबिना थापा सहित अन्य २० जना महिलालाई सम्मान गरिएको हो।
रुबिना सँगै नगर क्षेत्रका विभिन्न पेशा व्यवसायमा उत्कृष्ट महिलाहरूलाई सम्मान गरिएको हो। साथै, महिला प्यानल डिस्कसन लगायतका कार्यक्रमको पनि आयोजना गरिएको थियो।
पालिकाभित्रका करिब २० जना महिलाहरूलाई सफल व्यवसाय गरेका तथा सामाजिक काममा अग्रसर महिलाहरूलाई छनोट गरी सम्मान गरिएको हो। सम्मानित हुनेमा शिक्षा तर्फ सञ्जीवनी माविमा अध्यापन गराउने विमला श्रेष्ठ र कालिदेवी माविमा अध्यापन गराउने सङ्गीता गौतम, महिला स्वास्थ्य स्वयंसेविका सरिता शाही, सिनियर अनमी रिता रिजाल (स्वास्थ्य), उद्यमशीलता तर्फ धुलिखेल–३ बाट लिला सापकोटा क्षेत्री, वडा नं. १० की रेश्मा बयलकोटी, सामाजिक क्षेत्र तर्फ धुलिखेल–६ की दया लक्ष्मी श्रेष्ठ, कृषि क्षेत्र तर्फ धुलिखेल–२ की तारा धिमिरे, पशुपालन क्षेत्र तर्फ धुलिखेल–२ कै तुलसा न्यौपाने, कर्मचारी तर्फ धुलिखेल वडा नं. ७ की वडा सचिव प्रतिमा कटवाल, वातावरण तथा सरसफाइ तर्फ सरसफाइकर्मी विमला देउला, राजनीति तर्फ वडा नं. ११ की पूर्व दलित महिला वडा सदस्य गीता सुनुवार, पत्रकारिता तर्फ काभ्रेमा जन्मिएर विभिन्न सञ्चार माध्यम हुँदै हाल कान्तिपुर टिभीको समाचार वाचिकाको रूपमा कार्यरत धुलिखेल वडा नं. ३ की रुबिना थापा, निजामती कर्मचारी तर्फ धुलिखेल वडा नं. ९ की गीता हुमागाईं, मानव कल्याण क्षेत्र तर्फ वडा नं. १२ मा सञ्चालित मानव सेवा घरकी अभियन्ता सुमित्रा चौलागाईं, खेलकुद तर्फ जिल्ला स्तरिय प्रतियोगितामा दुई स्वर्ण पदक विजेता बालमन्दिर विद्यालयकी छात्रा गोमा न्यौपाने, कला–सङ्गीत तर्फ धुलिखेल वडा नं. ८ की मिना तामाङ, बालबालिका तर्फ नगर बाल सञ्जालमा रहेर उत्कृष्ट कार्य गर्ने धुलिखेल–४ की रस्मिता तामाङ, चिकित्सा क्षेत्र तर्फ डा. सम्झना बस्नेत, पर्यटन व्यवसायी तर्फ धुलिखेल–३ की जुलिसा श्रेष्ठ सम्मानित भएका छन्।
सोही सभालाई सम्बोधन गर्दै नगरप्रमुख अशोक कुमार ब्याञ्जुले आफूले नजिकबाट महिलाको दुःख बुझेको बताउनुभयो। बाबुको स्वर्गवास भएपश्चात् आमाले आफूलाई हुर्काएको संघर्षको महसुस गरेको उल्लेख गर्दै उहाँले समाजमा सक्षम नारी भए मात्र विकास सम्भव हुने बताए। उनले सक्षम नारीहरूको समाज निर्माण गर्न आफू नेतृत्वमा रहुन्जेल कार्य गर्ने बाचा समेत व्यक्त गरे।
नगर प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कलाकार/नायिका नम्रता श्रेष्ठ, नगरका जनप्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो।