काभ्रे :– जिल्लाको खानीखोला गाउँपालिका वडा नं. १, धार्नेमा नेवा खानेपानी संस्था (NEWAH) र खानीखोला गाउँपालिकाको साझेदारीमा ६५ घरधुरीका लागि जगाते-धार्ने-खवासे खानेपानी तथा सरसफाइ योजना सञ्चालन गरिएको छ। उक्त योजना गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
खानीखोला गाउँपालिका र नेवा खानेपानी संस्थाको सहकार्यमा सञ्चालन भएको यो आयोजनाले ६५ घरधुरीका लागि ‘एक घर, एक धारा’ प्रणालीमार्फत शुद्ध खानेपानी वितरणको व्यवस्था गरेको छ। अध्यक्ष थिङका अनुसार गाउँपालिकाले उपयुक्त मुहान पहिचान गरी प्रत्येक टोलमा खानेपानी पुर्याउने काम सम्पन्न गरेको छ।
यस खानेपानी आयोजनाले स्थानीय बासिन्दाहरूलाई स्वच्छ पानीको सुविधा पुर्याउने मात्र नभई खानेपानी अभावलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ। यसलाई निरन्तरता दिँदै पूर्ण दीगो बनाउन प्रयास गरिने अध्यक्ष थिङले बताए।
अध्यक्ष थिङले जनताको माग र आवश्यकताअनुसार आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात जस्ता पूर्वाधारका आयोजनाहरू निर्वाचित भएसँगै सफलता पूर्वक सम्पन्न गरिरहेको धारणा राखे।
शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात क्षेत्रमा सुधार भइसकेको र अझै उत्कृष्ट परिणाम ल्याएर खानीखोलालाई नमूना गाउँपालिका बनाउने लक्ष्य रहेको उनले बताए।