पुजन धिताल / काभ्रे :- जिल्लाको पुरानो नगर बनेपा नगरपालिकाले आफ्नो स्थापनाको ४४ औँ वर्ष पूरा गरेको छ। सोही अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै संविधानका बारेमा धारणा राखेका छन्।
उहाँले हालको संविधानकै आधारमा मुलुक अगाडि बढिरहेको बताउँदै, “अहिलेको संविधानको विकल्प अर्को संविधान हुनै सक्दैन।” भन्नुभयो। उहाँका अनुसार केही व्यक्तिहरू “केही भएको छैन” भन्ने भ्रामक धारणा निर्माण गर्न खोजिरहेका छन्, जुन सत्य होइन। उहाँले थप्दै भन्नुभयो, “जनताका अधिकार कुनै व्यक्तिको दया-मायाले आएको होइन, यो संघर्षको परिणाम हो। अधिकार सुरक्षित राख्नुपर्छ।
” उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्दै जानुको विकल्प नभएको पनि स्पष्ट पार्नु भयो । जनताको अधिकार कटौती गर्ने कुनै कदम नउठाइने आश्वासन दिँदै उहाँले, “विकास निर्माण कार्यमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्र अपनत्वको भावना सिर्जना गर्न सकिन्छ,” भन्नुभयो। साथै, निर्वाचनपछिको जनअपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। स्मार्ट सिटी विकासका लागि आवश्यक इन्डिकेटरहरू तयार पार्न सरकारले पहल गरिरहेको उहाँको भनाइ छ। मन्त्रीपरिषद्मा निर्णय भए पश्चात् मात्र यस विषयलाई अघि बढाइने उल्लेख गर्दै सिंहले स्मार्ट सिटीको अवधारणा कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो।
नगरको स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। नगरका कर्मचारी, शिक्षामा योगदान दिने व्यक्तित्वहरू, खेलकुद तथा कृषिमा उत्कृष्ट कार्य गर्ने किसानहरू, साथै एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
यस अवसरमा हालसालै काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्रा. डा. अच्युतप्रसाद वाग्लेलाई समेत विशेष सम्मान प्रदान गरियो।
कार्यक्रमलाई सफल बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, र नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।