काठमाडौँ । काठमाडौँबाट एक वर्षमा ५० करोड भन्दा धेरै मूल्य बराबरको मोबाइल हराएको पाइएको छ ।
२०८१ साउनपछि २०८२ असार मसान्तसम्ममा ५० करोड ६५ लाखको मोबाइल हराएको र चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले बताए ।
उनका अनुसार एक वर्षमा हराएका मध्येमा २६ प्रतिशत मोबाइल मात्र भेटिएको छ । १३ करोड ३२ लाख मूल्य बराबरको मोबाइल प्रहरीले विभिन्न विधि प्रयोग गरेर खोजिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौँबाट २ हजार ३९१ थान आइफोन हराएको र चोरी भएको थियो । सामसङ २४ सय ७२ थान, रेडमी ३४६६ थान र भिभो ८९७ थान हराएको थियो ।
आफ्ना हराएका तथा चोरी भएका मोबाइल खोजिदिन आग्रह गर्दै १४ हजार ८०९ जनाले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिएका थिए । तीमध्ये ४ हजार १६८ वटा मोबाइल फेला परेको एसपी चन्दले बताए । उनले भने, ‘हराएका र चोरी भएका मोबाइल थोरै सङ्ख्यामा मात्र फेला पर्छन् ।’
प्रहरीले डिभाइस ट्रयाकबाट मोबाइल पत्ता लगाउने गरेको छ । डिभाइस ट्रयाक गरेर आरोपीसम्म पुग्न सकेमात्र मोबाइल भेटिन्छ । तर, चोरीमा संलग्नहरूले ट्रयाकिङ सिस्टमबाट मोबाइललाई बाहिर राख्ने गरेका छन् ।
त्यस्तै चोरीमा संलग्नहरूले मोबाइलको पार्ट बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी चन्दले बताए । उनले भने, ‘चोरी गर्नेहरूले मर्मत केन्द्रमा लगेर सस्तोमा मोबाइलका पार्टहरू बेच्ने गरेको हुनाले रिकभरको रेट कम हुने गरेको छ ।’