काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा सेवा श्रावण १ गतेदेखि अनिवार्य रूपमा सुरु गर्नुपर्ने थियो। तर धुलिखेल नगरपालिकाले भौतिक पूर्वाधार र जनशक्तिको अभाव देखाउँदै सो सेवा सञ्चालन गर्न नसकिने अडान राख्दै उच्च तहसम्म पत्रचार गर्यो।
मन्त्रीदेखि प्रधानमन्त्री कार्यालयसम्म “सेवा दिन सक्दिन” भन्ने आधिकारिक पत्र लिएर पुगेका नगर प्रमुख अशोक कुमार व्याञ्जुले अन्ततः सोमबार पुनः बैठक बसाउँदै २५ दिनपछि सेवा थालनी गर्ने निर्णय गरेका छन्।
श्रावण १९ गते बसेको नगर कार्यपालिकाको बैठकले धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट श्रावण २६ गतेदेखि स्वास्थ्य बीमा सेवा थालनी गर्ने निर्णय गरेको हो। तर यो निर्णय नगरपालिकाले शुरुमा लिएको निर्णयको विपरित हो। जसअनुसार आफू तयार नभएको, पूर्वाधार कमजोर भएको र जनशक्ति पर्याप्त नभएको दाबी गर्दै बीमा सेवा सञ्चालनबाट नगरले पन्छिने घोषणा गरेको थियो।

धुलिखेल नगरपालिका स्वास्थ्य क्षेत्रमा अग्रसर भनेर ‘स्वस्थ शहर’ को उपाधी प्राप्त गरिसकेको नगर हो। तर बीमा सेवा दिन नसकिने भन्दै सार्वजनिक रूपमै पछि हट्नु र त्यसलाई ढाकछोप गर्न राजनीतिक तहमा चिट्ठी बोकेर हिँड्नु आफैंमा आलोचनाको विषय बन्यो। त्यसपछि चर्किएको आलोचना, स्थानीय जनदबाब र संघीय तहबाट आएको संकेतपछिको अवस्था नै सोमवारको निर्णयमा परिणत भएको हो।
बैठकले तत्कालका लागि धुलिखेल नगरभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिकहरूलाई मात्र रेफरसहित सेवा दिने निर्णय गरेको छ। अन्य क्षेत्रका नागरिकहरूलाई भने हालका लागि सेवा दिइने छैन। पूर्वाधार र जनशक्ति थपिएपछि मात्र सेवा विस्तार गरिने बताइएको छ।
स्वास्थ्य बीमा कार्यक्रम नागरिकको आधारभूत स्वास्थ्य सुरक्षासँग गाँसिएको विषय हो। नगरपालिकाले यस्तो संवेदनशील विषयलाई समयमै कार्यान्वयन गर्न नसक्नु, पूर्वतयारी नगर्नु, अनि पछि जनदबाबपछि निर्णय फिर्ता गर्नुले नगरको दायित्वबोध र कार्यक्षमतामाथि प्रश्न उठाएको छ।
धुलिखेलले दाबी गरेजस्तो ‘स्वस्थ शहर’ मात्र भएर पुग्दैन, सेवा पुर्याउने जिम्मेवारीमा पनि त्यतिकै सक्षम देखिनुपर्ने जनस्तरमा टिप्पणी भइरहेको छ। बीमा सेवा सञ्चालन गर्न नसकिने भन्ने निर्णयबाट पछि हटेर नगरले सेवा सुरु गर्नुपर्ने बाध्यता स्वीकार गर्नु, आफैंमा एक प्रकारको स्वीकारोक्ति बनेको छ।