सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पर्यटकीय स्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

पर्यटकीय स्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

535
Shares
पर्यटकीय स्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन्।

वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षारोपण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्ने लगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए। यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ ।

“श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भने,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्त्व रहेको वडाध्यक्ष आचर्यले बताए । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।

गोल्मे–गङ्गा पर्यटन प्रवर्द्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताए । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उनको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवर्द्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ ।

वडाका स्थानीयवासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिए । ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठुला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरू आउने अध्यक्ष राईले जानकारी दिए ।

अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । स्थानीय स्तरबाट यहाँको संरक्षणको काम थालिएको उनले जानकारी दिए। यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उनले बताए । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको छ ।

  • रासस

535
Shares

ट्रेन्डिङ