सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भ निरीक्षण

सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भ निरीक्षण

530
Shares
सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भ निरीक्षण

किमाथाङ्का । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्मचैनपुरअन्तर्गतको किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका सीमास्तम्भको निरीक्षण गरेको हो ।

टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका पाँच सीमास्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बीओपी किमाथाङ्काका इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात, चीनको स्वशासित क्षेत्र तिब्बतका प्रहरी नायब उपरीक्षक दावा छिरिङको नेतृत्वमा आठ तथा नेपाल प्रहरीका चार सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले सीमास्तम्भ निरीक्षण गरेको हो ।

संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका सीमास्तम्भ, सीमाको अवस्था लगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

सङ्खुवासभामा नेपाल–चीन सीमामा २१ सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीन अन्तरराष्ट्रिय सीमास्तम्भ निकै पुरानो भएको बताइएको छ । गत जेठमा आएको बाढीले ७१/१ को सीमास्तम्भ बगाएको थियो । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षापोष्ट बिओपी स्थापना भएको हो ।

भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङखोलामा बाढीले बगाएको ७१/१ सीमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजार बासिन्दाको बसोबास रहेको छ । उनीहरु सीमापारिको चाँगाबजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।

विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्दछ । यहाँ अझै पनि सडक सुविधा छैन ।

530
Shares

ट्रेन्डिङ