काभ्रे :- लायन्स क्लब अफ काठमाण्डु ३२५ डिस्ट्रीक्ट (आई) का १६ वटा समूहको सहयोगमा जिल्लाको पनौती वडा नं ३ तेलमाले निवासी राजु सापकोटाको परिवारलाई नगद ४ हजार रुपैयाँसहित, र जिल्लाकै वेथान्चोक गाउँपालिका वडा नं ६ निवासी पहिरो प्रभावित भीमबहादुर घलानलाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरिएको छ।
गत असोज १८ गते अत्याधिक वर्षा पछि भिरालो स्थानमा रहेको राजु सापकोटाको घर बस्न अयोग्य भएपछि केही माथि रहेको दाजुको घरमा सरेका बेला अचानक चट्यांङ परेर घरको दोस्रो तल्ला जलेको थियो। स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिए पनि सापकोटा परिवारका सबै लत्ताकपडा देखि अन्नपातसम्म जलेका थिए।

चट्यांङबाट घरका उपभोग्य सामग्री गुमाएका राजु सापकोटाले सहयोग पाएकोमा धन्यवाद व्यक्त गर्दै अब स्थायी बासको लागि सहयोग गर्न अपील गर्नुभयो।

यसैगरी, वेथान्चोक गाउँपालिका वडा नं ६ निवासी पहिरो पीडित भीमबहादुर घलानका छोरा रोशन घलानले भने, खाद्यान्न र लत्ताकपडा समेत झिक्न नसकिएको र अस्थायी टहरा बनाउन जस्ता पाउन सके पुरानै अवस्थामा फर्किन सहज हुने बताउनुभयो।

लायन्स क्लब अफ काठमाण्डु ३२५ डिस्ट्रीक्ट (आई) का डिस्ट्रिक चिफ विष्णु भण्डारीले सहयोग हस्तान्तरण गर्दै ‘जहाँ सहयोग, त्यहाँ लायन्स’ भन्ने उद्देश्यका साथ सहयोग गरिएको बताउनुभयो। उहाँले यो सहयोग कार्यक्रम यहाँसम्म पुर्याउन समन्वय गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो।
लायन्स क्लब अफ काठमाण्डु ३२५ डिस्ट्रीक्ट (आई) सम्म सहयोग पुर्याउन स्थानीय सामाजिक अभियन्ता जी.एन. सापकोटा र प्रविण ढकालले समन्वय गर्नुभएको थियो।


