काभ्रे । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) छपाइ कार्य पनौती नगरपालिका–५ मा रहेको आईटी पार्कबाट शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । उक्त ऐतिहासिक कार्यको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खरेलले भने, “राज्यका सेवा समयमा पाउँदा मात्रै जनताले सुशासनको अनुभूति गर्छन् । नागरिकले राहदानी, लाइसेन्स र राज्यका अन्य कागजात समयमै पाउँदा मात्र सरकारप्रति विश्वास बढ्छ र सुशासन सुदृढ हुन्छ,” मन्त्री खरेलको भनाइ थियो ।

उहाँले थप गर्नुभयो, “मैले पहिलो मन्त्रिपरिषद्मा बसेर सुरक्षण मुद्रण ऐन बनाएको हुँ । अहिले आवश्यक जनशक्ति व्यवस्थापन हुँदैछ । हालसम्म करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ । यो केन्द्रले लाइसेन्स, राहदानी र अन्य सरकारी कागजातका छपाइलाई छिटो र सुरक्षित बनाउन सहयोग पुर्याउनेछ ।”

मन्त्री खरेलले जेन–जि पुस्ताको विद्रोहपछि बनेको सरकारले सुशासन र पारदर्शिता सुनिश्चित गर्न यस्ता प्रविधिमूलक कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँको भनाइमा, “देशभित्र मात्र होइन, आगामी दिनमा विदेशका लागि समेत छपाइ सेवामा नेपालको सुरक्षण मुद्रण केन्द्र सक्षम बन्नुपर्नेछ । त्यस दिन ल्याउन हामी निरन्तर अग्रसर छौं ।”
उद्घाटनपछि मन्त्री खरेलले पनौती आईटी पार्कभित्र रहेको सुरक्षण मुद्रण केन्द्रको अवलोकन गर्दै केन्द्रको हालको अवस्था र भविष्यका योजना सम्बन्धी विस्तृत जानकारी लिनुभयो ।

केन्द्रका प्रमुखले हालसम्मको प्राविधिक उपलब्धि, लगानी, दक्ष जनशक्ति र आगामी विस्तार योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले निकट भविष्यमै सुरक्षण मुद्रण केन्द्रबाट राहदानी, नागरिकता कार्ड, शैक्षिक प्रमाणपत्र र अन्य संवेदनशील सरकारी कागजात छपाइ सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
यससँगै देशमै पहिलोपटक स्थानीय स्तरमा सुरक्षण मुद्रण प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने ऐतिहासिक कदमको रूपमा यो सुरुवात गरिएको बताइएको छ ।