काभ्रे :- काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले आयोजना गर्न लागेको KU ‘आईटी मिट २०२५’ डिसेम्बर २६ अर्थात् पुस ११ गते काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजना हुने भएको छ। कार्यक्रमबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको आईटी मिट “#Connect. Compute. Create.” नाराका साथ आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रविधि, नवप्रवर्तन र उद्योग–शैक्षिक सहकार्यलाई कार्यक्रमको मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।
आयोजकका अनुसार आईटी मिट २०२५ अन्तर्गत १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएका छन्। ती कार्यक्रमहरूमा प्रि–इभेन्ट, ह्याकाथन, प्रोजेक्ट प्रदर्शनी, करियर फेयर, प्यानल छलफल, आईटी क्विज तथा गेमिङ प्रतियोगिताहरू रहेका छन्। यसले विद्यार्थी, विश्वविद्यालय र प्रविधि उद्योगबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा KU HackFest २०२५ आयोजना गरिनेछ। डिसेम्बर २४ र २६ मा सञ्चालन हुने ४८ घण्टा लामो यस ह्याकाथनमा AI/ML, AR/VR, Blockchain र IoT जस्ता प्रविधि प्रयोग गरी सहभागीहरूले विभिन्न प्रोजेक्ट निर्माण गर्नेछन्। ह्याकाथनमा १६१ टोलीका १५० भन्दा बढी विद्यार्थी सहभागी हुने र २ लाख ५० हजार रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिने जनाइएको छ।
मुख्य दिन डिसेम्बर २६ मा आयोजना हुने प्रोजेक्ट प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका हार्डवेयर तथा सफ्टवेयरहरूको प्रदर्शन गरिनेछ। साथै, करियर फेयरमा १५ भन्दा बढी कम्पनीका स्टल रहनेछन्, जहाँ विद्यार्थीहरूले रोजगारी तथा इन्टर्नसिपसम्बन्धी जानकारी लिन सक्नेछन्। त्यसैगरी, ‘The AI Wave: Illusion or Innovation’ शीर्षकमा प्यानल छलफल आयोजना गरिनेछ। छलफलमा काठमाडौं विश्वविद्यालयका डा. मनोज शाक्य, काठमाडौं फिनटिजका संजिब सुब्बा, मेरोजबका शैलेन्द्रराज गिरी र युबीए सोलुसन्सका रोशन श्रेष्ठ सहभागी हुने आयोजकले जनाएको छ।

आयोजकले ‘आईटी मिट २०२५’ ले विद्यार्थीहरूको सीप विकास, नवप्रवर्तन प्रवर्द्धन तथा प्रविधि क्षेत्रमा करियर अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।