सनम सुवाल ,काभ्रे l धुलिखेल :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगर समितिमा केही पूर्व जनप्रतिनिधिहरू नेतृत्वमै देखिएका छन्। पार्टी स्थापना भएको केही समयपछि नै सक्रिय बनेका धुलिखेल–४ का नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भइसकेका रविन्द्र कर्मचार्य तथा कार्यपालिका सदस्य रहेकी रोजना श्रेष्ठ, त्यस्तै सोही कार्यकालमा कार्यपालिका सदस्य रहेकी धुलिखेल–११ की जमुना तामाङका श्रीमान् भक्त सिंह तामाङलगायतका नेताहरू रास्वपाको नेतृत्वमा स्थापित भएका छन्। लामो समय नेकपा (एमाले)मा क्रियाशील रहेका रोजना र जमुना तामाङसँग सम्बन्धित नेतृत्व मात्र नभई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू समेत रास्वपाको संस्थापक नेतृत्वमा देखिएका छन्।
संगठनलाई चलायमान र प्रभावकारी बनाउने उद्देश्यले नगर समितिले विभिन्न विभाग गठन गर्दै नगर तथा वडा तहका नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुका साथै मनोनयनमार्फत जिम्मेवारी तोक्न सिफारिस समेत गरेको छ। नगर समितिको बैठकले शिक्षा, संगठन, कृषि तथा सहकारी, स्वास्थ्य, कला तथा संस्कृति लगायतका विभाग गठन गर्ने निर्णय गर्दै प्रत्येक विभागमा संयोजक र सदस्य तोकेको हो।

निर्णयअनुसार विभागहरूमा वडा नं.१, २, ३, ४, ५, ६, ७, ८, ९ , १० ,११ र १२ का नेताहरूलाई जिम्मेवारी दिइएको छ भने वडा समितिको सिफारिस र नगर समितिको मूल्याङ्कनका आधारमा जिम्मेवारी तोक्न उपल्लो निकायमा पत्राचार गर्ने निर्णय समेत गरिएको छ।
लामो समय पत्रकारितामा सक्रिय रहेका तथा पूर्णरूपमा पार्टी कर्ममा होमिएका धुलिखेल–११ का पुजन धिताललाई जिल्ला नेतृत्वको मूल्याङ्कनका आधारमा जिल्ला, प्रदेश तथा केन्द्र तहमा मनोनयन गरी जिम्मेवारी तोक्न सिफारिस गरिएको छ। धिताल काभ्रेली पत्रकारिता क्षेत्रमा विगत १३ वर्षदेखि सक्रिय छन्। उनले इमेज टेलिभिजन, ग्यालेक्सी फोरके टेलिभिजन, कान्तिपुर टेलिभिजनसहित विभिन्न साप्ताहिक पत्रिका, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा लामो समय काम गरेका छन्। उनी नमोबुद्ध मिडिया प्रालिका संस्थापक अध्यक्ष तथा विभिन्न सामाजिक संस्थाको नेतृत्वमा समेत सक्रिय छन्।
त्यसैगरी, आज बसेको बैठकले नगर संगठन विभागको संयोजकमा वडा सभापति समेत रहेका रविन्द्र कर्मचार्यलाई चयन गरेको छ। विभागका सदस्यहरूमा प्रकाश कार्की, शान्ताप्रसाद लामिछाने, हरिकृष्ण कर्मचार्य, कुमार खड्का तथा यादव गौतमलाई मनोनित गरिएको छ।
बैठकले नगर र्यापिड एक्सन टिम (RAT) को संयोजकमा तदर्थ समितिका संयोजक किरण रञ्जितलाई चयन गरेको छ भने सदस्यहरूमा कमल वैद्य र सुमन सिग्देललाई चयन गरेको छ। शिक्षा विभागको संयोजकमा रामजी पाठक तथा कृषि तथा सहकारी विभागको संयोजकमा भक्त सिंह तामाङलाई चयन गरिएको छ। उक्त विभागका सदस्यहरूमा कमल मिजार र उपेन्द्र धिताल रहेका छन्।

नगर स्वास्थ्य विभागको संयोजकमा अशोक थापालाई तोकिएको छ भने कला तथा संस्कृति विभागमा शिवप्रसाद चौलागाईंलाई सदस्यका रूपमा चयन गरिएको छ। साथै, बैठकले रामजी पौड्याललाई नगर सदस्य पदमा मनोनित गर्ने निर्णय समेत गरेको छ।
निर्वाचित सदस्यलाई कोषाध्यक्ष बनाउने प्रावधानअनुसार रोजना श्रेष्ठलाई नगर कोषाध्यक्षको जिम्मेवारी तोकिएको छ। रोजना २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट धुलिखेल नगरपालिका–६ बाट कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन्।
बैठकले वडा समितिको सिफारिसका आधारमा पार्टी संगठनलाई चलायमान बनाउन सक्ने तथा नेतृत्व गर्न सक्ने व्यक्तिलाई जिल्ला तहको र्यापिड एक्सन टिम (RAT) मा सिफारिस गर्ने निर्णय गर्दै धुलिखेल–११ का सुवास गौतमलाई जिल्ला तहका लागि सिफारिस गरेको छ।


