सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • गणेश चतुर्थीमा कुमार पूजा

गणेश चतुर्थीमा कुमार पूजा

30
Shares
गणेश चतुर्थीमा कुमार पूजा

भदौ ३०, काभ्रे ; गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मंगलबार ३०८ कुमारको पूजा गरिएको छ ।

पनौती बोलबम परिवार संघको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौंका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो । भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ ।

कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ । कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको समेत उल्लेख्य भीड लागेको थियो ।

पनौती बोलबम परिवार संघले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको संघका अध्यक्ष महेश धाजुले बताउनुभयो । उहाँका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ ।

“कुमार पूजा केवल कुमार बालकको व्यक्तिगत पूजा होइन, सामूहिक मंगलकामनासँग पनि जोडिएको छ । विभिन्न ठाउँबाट बालकहरूलाई बोलाएर सामूहिक रूपमा पूजा गर्नुको उद्देश्य समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु तथा धार्मिक–सांस्कृतिक परम्परालाई निरन्तरता दिनु हो”, अध्यक्ष धाजुले भन्नुभयो।

30
Shares

ट्रेन्डिङ