सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चुनावका बेला उपप्रधानमन्त्रीसहित तीन मन्त्री चीनमा

चुनावका बेला उपप्रधानमन्त्रीसहित तीन मन्त्री चीनमा

4405
Shares
चुनावका बेला उपप्रधानमन्त्रीसहित तीन मन्त्री चीनमा

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन । बैशाख ३१ र जेठ १ गते चीनले आयोजना गर्न लागेको वेल्ट एण्ड रोड शिखर सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री महरा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा प्रविधिमन्त्री सुरेन्द्र कार्कीलाई चीन भ्रमणमा जान लाग्नु भएको हो ।
मन्त्रिपरिषदको बिहिबार सिंहदरवारमा बसेको बैठकले तीन मन्त्रीसहित परराष्ट्रसचिव शंकरदास बैरागी र अर्थमन्त्रालयका सचिव वा सहसचिव मध्ये एकलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी रहनुहुनेछ । चिनियाँ राष्ट्रपतिले उद्घाटन गर्ने दुई दिने शिखर सम्मेलनमा एसिया, युरोप र अफ्रिकाका २८ देशका सरकार प्रमुख÷राष्ट्र प्रमुख, मन्त्रीस्तरका अधिकारी र उच्च कुटनीतिज्ञहरु लगायत सहभागि हुनेछन् । एसियाबाट श्रीलंका, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय सहभातिा रहने भएको छ ।
बेल्ट एन्ड रोड अवधारणाको नेपाल सदस्य बन्नेगरी बेल्ट एन्ड रोड शिखर सम्मेलनका दौरानमा चीनसंग समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियां राष्ट्रपति सि जिनपिङ्संग अघिल्लो महिना बेइजिङ्मा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्दता जनाउनुभएको थियो । बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागिता सम्बन्धि चीनसंग हुने समझदारी पत्रको दस्तावेजलाई अन्तिम रुप दिनेबारे चीनसंग कुटनीतिक तहमा कुराकानी भइरहेको छ ।
चिनियां बेल्ट एण्ड रोड अवधारणामा नेपाल सदस्य बनेको खण्डमा नेपाल र चीनबीच सीमापार रेल र सडक सञ्जाल विस्तार, सीमापार बिद्युतीय प्रशारण लाइन र सीमापार बिशेष आर्थिक क्षेत्र लगायतका क्षेत्रमा दुई देशबीच बृहत् सहकार्य हुनेछ । अवधारणा भित्र रही भौतिक पूर्वाधार विकास, हवाई, सडक र रेल कनेक्टिभिटी विस्तार, पर्यटन, स्वतन्त्र ब्यापार, विकास रणनीतिमा साझेदारी लगायतका क्षेत्रमा नेपाल र चीनबीच सहकार्य हुनेछ । नेपालले बेल्ट एण्ड रोड अवधारणाको सदस्य बन्न चीनसंग सन् २०१४ मै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
उपप्रधानमन्त्री महराले चीन अध्ययन केन्द्रले हालै आयोजना गरेको कार्यक्रममा बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बनेर लाभ लिन चाहेको बताउनुभएको थियो । चीनले प्रधानमन्त्री दाहाल र चार जना मन्त्रीहरुलाई बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागीताका लागि निमन्त्रणा पठाएको थियो । स्थानीय चुनाव घोषणा भएकाले बेल्ट एन्ड रोड सम्मेलनमा आफू उपस्थित हुन नसक्ने प्रधानमन्त्री दाहालले यसअघि नै चीनलाई अवगत गराइसक्नु भएको छ ।चिनियां राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि बढाएको ‘बेल्ट एन्ड रोड’ अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ ।
‘बेल्ट एन्ड रोड’ अवधारणा घोषणा भएपछि उक्त अवधारणमा सहभागि भइसकेका ६५ मुलुक तथा सहभागि हुने इच्छा राखेका अन्य मुलुकलाई निम्त्याएर चीनले शिखर सम्मेलन आयोजना गर्न लागेको हो । छिमेकी भारतले बेल्ट एन्ड रोड अवधारणमा रिजर्भेसन राख्दै सोको सदस्यका रुपमा सहभागि नहुने बताएको छ । चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिखर सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा दिएको थियो । भारतले पनि कुन तहमा शिखर सम्मेलनमा प्रतिनिधित्व जनाउने भन्ने टुंगो अझै गरिकसकेको छैन ।

4405
Shares

ट्रेन्डिङ