सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै

पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै

4350
Shares
पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै

काँकडभिट्टा (झापा), २६ वैशाख । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थाल्नुभएकोे छ । शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उहाँको उपचार भइरहेको छ ।
सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो । ‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि उहाँ (पति)को उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय लिएकी हुँ’ – रासससँगको कुराकानीमा शान्ता बताउनुहुन्छ ।
सहयोग जुटाउन गठित अभियानले विगत छ महिनामा रु १६ लाख सङ्कलन गरेको थियो । काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताउनुहुन्छ । बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिएको उहाँको भनाइ छ ।
मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अबस्था पनि नाजुक हुँदै आइरहेको थियो । हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरुले एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगर बताउनुहुन्छ । मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो ।
टेम्पोको बजार मूल्य पाँच लाख ३५ हजार हो । तर सहारा नेपालले रु २५ हजार छुट गरिदिएकाले शान्ताले रु पाँच लाख १० हजारमा टेम्पो पाउनुभएको हो । टेम्पो कुदाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उहाँले सातामा तीनपटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पु¥याउनुपर्छ । उनीहरुका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने छ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।
शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर आउने गर्नुहुन्छ । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्नुहुन्छ । भूपिन अरु काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किनुहुन्छ । आर्थिक स्थिति कमजोर भएकाले वैदेशिक रोजगारीका लागि कतार पुगेपनि भूपिनको अवस्था ज्यादै नाजुक भएपछि सात महिना पछि उहाँ नेपाल फर्केर पतिको उपचारमा जुटनुभएको थियो । भूपिन बचाऊ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताउनुभयो । रासस

4350
Shares

ट्रेन्डिङ