सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एउटै डोरीमा आमाछोराले गरे आत्महत्या

एउटै डोरीमा आमाछोराले गरे आत्महत्या

5075
Shares
एउटै डोरीमा आमाछोराले गरे आत्महत्या

वैशाख २८, गुल्मी । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिककोे डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।
शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय
ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए ।
१० महिनामा ३८ ले गरे आत्महत्या
गत साउनदेखि अहिलेसम्म जिल्लामा ३८ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ । साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा तीन, मंसिरमा पाँच, पुसमा चार, माघमा ६, फागुनमा चार, चैतमा दुई र २४ वैशाखसम्म तीनजनाले आत्महत्या गरेका छन् ।
गत तीन वर्षको तथ्यांकलाई तुलना गर्ने हो भने आर्थिक वर्ष ०७०-७१ मा ५४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ०७१-७२ मा ४८ र ०७२-७३ मा ६७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले आत्महत्या ठूलो समस्या भएको बताए । तीन–चार वर्षमा जिल्लाको आत्महत्याको दर अत्यन्तै उच्च रहेको उनले बताए । ‘कुनै महिना आत्महत्या नभएका छैनन्, कहिले त एकैदिन दुई–तीनवटा पनि भए,’ नेपालले भने, ‘अवस्था न्यूनीकरणमा पहल कतैबाट छैन ।’ पछिल्लो सामाजिक सञ्जालले ल्याएको विकृति, वैदेशिक रोजगारपछिको पारिवारिक विचलन, आधुनिक पुस्ताको बढ्दो महत्वकांक्षालगायत कारण आत्महत्याका घटनामा वृद्धि भएको उनले बताए ।
मानवअधिकारकर्मी गणेश श्रेष्ठले आत्महत्याको गम्भीर समस्या रहेकाले सरकारी तथा गैरसरकारी कार्यालय र सरोकारवालको ध्यान पुग्न जरुरी रहेको बताए । आत्महत्या गर्ने धेरै महिला र युवायुवती रहेकाले सचेतनामार्फत निरुत्साहित गर्नुपर्ने उनले बताए ।
-नयाँ पत्रिका

5075
Shares

ट्रेन्डिङ