जेठ ९, काठमाडौं । समयमै कार्यालय आउने, मुद्दा सुनुवाइ गर्ने र समयमै घर फर्कने। केहीबेर परिवारसँग समय बिताउने र लेखपढ गरेर समयमै सुत्ने, अनि समयमै उठ्ने। घरमै पकाएको मात्र खाने। आहारविहारको अनुशासन कुनै हालतमा नतोड्ने। न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनिकी अहिले खलबलिएको छ। उनको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो। सात दिन सात रात भयो, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलभित्र कैद छ उनको दैनिकी। कम्पाउन्डबाहिर निस्कनसम्म पाएका छैनन्।
काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्रकै नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो। मतगणनाले भने उनलाई सभागृहको ‘बन्दी’ जस्तै बनाइदिएको छ। ३१ गते बेलुकी मतपत्रका बाकस राष्ट्रिय सभागृह ल्याइएदेखि नै न्यायाधीश अधिकारीको ध्याउन्न छिटोभन्दा छिटो मतगणना सक्ने भन्नेमा छ। काठमाडौं महानगरको मतगणना कछुवा गतिको भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। गजब कुरा त के छ भने मुख्य निर्वाचन अधिकृत अधिकारीको कक्षमा न त अहिलेसम्म पत्रपत्रिका नै पुगेको छ, न उनलाई टेलिभिजन हेर्ने फुर्सद छ।
बाहिरबाट भेट्न जाने र पत्रकारले सोध्ने प्रश्नका आधारमा मुलुकमा के भइरहेको छ भन्नेसम्म थाहा छ उनलाई। किनकि, उनी मतगणनाको जिम्मेवारी छाडेर एकछिन पनि यताउता लाग्न पाउँदैनन्। उनको अनुपस्थितिमा केही समस्या आए त्यसको जिम्मेवारी अरू कसैले लिनेछैन। सुरक्षाकर्मीलाई छिचोल्दै सोमबार करिब १२ बजे सभागृहको भुइँतलाको कोठामा पुग्दा अधिकारी भर्खर खाना खाएर बसेका थिए। कोठामा एउटा सोफा र सानो टेबल थियो। सोफा देखाउँदै अधिकारीले भने, ‘समय मिले केहीबेर यही सोफामा ढल्किने गरेको छु।’ उनी घर नगएको सात दिन नाघिसक्यो। ‘अझै कति दिन लाग्ने हो ?’ उनले भने। कीर्तिपुर नगरपालिका–१ अमृतनगरका अधिकारीको पुरानो घर भने तनहुँ हो।
सभागृहबाट करिब ४ किलोमिटरको दूरीमा रहेको घर जान त उनले पाएका छैनन्। दिनहुँ नहाउनुपर्ने, घरकै खाना मात्र खानुपर्ने, नियमित चेक गराउनुपर्ने, कार्यालय समयमा काम र अन्य बेला आराम गर्नुपर्ने उनको दिनचर्या अहिले उनीबाटै गायब छ। भन्छन्, ‘कति बेला खाने, कति बेला सुत्ने, परिवारका सदस्यलाई भेट्ने, नियमित काम गर्ने भन्ने छैन। परिवारभन्दा पहिले आफूलाई दिएको जिम्मेवारीलाई महत्त्व दिएर काम गरिरहेको छु।’ उनलाई फेर्नका लागि घरबाट लुगा पठाइदिने गरेका छन्।
उनले हातका औंला देखाउँदै भने, ‘नङसम्म काट्न पाएको छैन। अरू त कुरै छाडौं।’ पाँच दिनअघि बिरामी भएकी उनकी फुपूलाई तनहुँबाट एम्बुलेन्समा ल्याएर त्रिभुवन शिक्षण अस्पतालमा भर्ना गरिएको छ। तर, उनी भेट्नसमेत जान पाएका छैनन्। ‘दिदीलाई भेट्न जान पनि पाएको छैन,’ उनले भने। एकतर्फ मतगणनाको तनाव, अर्कोतर्फ परिवारका सदस्यको गुनासो। ‘जस्तै अवस्था परे पनि आफ्नो काम त पूरा गर्नुपर्यो,’ उनले भने, ‘जिम्मेवारीबाट कहाँ भाग्न मिल्छ र ?’
-कान्तिपुर