सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा नेपाली कांग्रेसले नै विजयको झण्डा फहराउँछ: गणेश लामा

काभ्रेमा नेपाली कांग्रेसले नै विजयको झण्डा फहराउँछ: गणेश लामा

8015
Shares
काभ्रेमा नेपाली कांग्रेसले नै विजयको झण्डा फहराउँछ: गणेश लामा

काभ्रे, मंसिर १८ । मेरो उम्मेदवारी काभ्रेको समग्र विकास अनि सम्पन्नताको लागि हो । म बिपीको समाजवादी चिन्तन आत्मसात् गर्दैै आएको व्यक्ति हो । नेपाल र नेपाली तथा काभ्रेबासीको सेवा गर्न म राजनीतिमा आएको हुँ । मेरो उपस्थिति अहिले मात्र हैन २०७० सालको संविधान सभा निर्वाचनमा पनि थियो । यसर्थ मेरो उम्मेदवारी काभ्रैको विकासको लागि हो । अहिले पनि केही पार्टीहरुले मानव–मानव विच असमानता र समाजिक संरचनादेखि राज्यब्यवस्थामा समेत भेदभावका हिसावले चुनाव प्रचार गरेको देख्छु । समाजमा ब्याप्त अन्याय, असमानता र शोषणका विरुद्ध म उठेको हुँ ।
वाद, जातीयता, साम्प्रदायिकता भन्दा माथी उठेर मैले काभ्रे प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा जिम्मेवारी पाएको छु । यस भेगका सम्वोधन गर्नु पर्ने समस्याहरुलाई मैले नजिकबाट राम्ररी केलाएको छु । लोकतान्त्रिक समाजवाद, राजनीतिक स्वतन्त्रता सहितको जनउत्तरदायी शासन प्रणाली र स्थानीय तहमा उपलब्ध स्रोत साधनको न्यायोचित वितरण प्रणालीको प्रवन्धबाट मानिसलाई आर्थिक र सामाजिक शोषणबाट मुक्ति दिलाउने । विपीको सैद्धान्तिक अवधारणालाई लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्दै लोकतान्त्रिक राजनीतिक ब्यवस्था एवं समुन्नत काभ्रेको सामाजिक परिवर्तनको लागि हो मेरो उम्मेदवारी ।
म मीठा भाषण हैन काम गरेर देखाउँछु । खहरेपाँगुको भित्ताहरुमा मेलापात गर्दै हुर्किएको एक आम नेपाली, समाजका दुःख सुख, मिठो मसिनोमा भिजेरै हुर्किएको हुँ म । सानै देखि विपीका चिन्तनहरुबाट प्रभावित भएको किसान परिवारको हिस्सा हुँ । विपीले ल्याएको समाजवादका बुँदामा पुग्दै आफ्नो क्षेत्रका जनताको लागि म सदैव समर्पित छु । मैले सदैव यस भेग र जनताको लागि आफूले सक्दो सहयोग गर्दै आएको छु । जुन कुरा यहाँको जनतामाझ प्रयट छ । म समाजसेवामा समर्पित मान्छे हुँ । यहाँका जनताका हर पीडामा मल्हम लगाउने काम गरेको छु र गरिरहनेछु ।
सबै नेपालीको एउटा सानो घर होस, गरिखान पुग्ने खेतवारी होस, एउटा दुहुनो गाई होस, छोरा छोरी स्कुल पढन पाउन, स्वास्थ उपचार गर्न पाँउन जनक्रान्ति २००७ का कमाण्डर वि.पी. कोईरालाले भन्ने गर्थे । नेपालको सन्र्दभमा समाजवादको एक हिस्सा प्रस्तुत थियो । यही कुराहरुमा म केन्द्रित हुँदै अघि बढेको छु । के यी कुरा व्यवहारमा उतार्ने जमर्को साँच्चै मिठास युक्त छैनन् र ? यसलाई शब्दमा हैन कर्ममा रुपान्तरण गर्न लागि पर्नेछु म हर हमेसा ।
हिजो माओवादी युद्ध चर्किदै गएको समयमा हामीलाई गाउँबाट लखेटने जत्था नै अहिलो नेतृत्वका लागि चुनावी मैदानमा रहेका छन् वाम गठबन्धनको नाममा । हिजो जनताका घर लुटने, जलाउने कुटने मार्नेसँग साँठगाउँ र तालमेल छ के उनीहरु कामधेनु गाईको दुधले नुहाएका हुन त ? म न हिजो न आज, कही कतै बाधक बनिन र बन्ने पनि छैन । माओवादी युद्धकालमा मैले काभ्रेका धेरै विद्यालयमा गरिब तथा निमुखा विद्यार्थीको लागि निःशुल्क ट्युसन र कोचिङ कक्षा चलाएको थिएँ । टेष्ट परिक्षा सकिए पछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले सास्ती नपाउन् भनेर सो कक्षा मैले चलाएँ । जुन बेला यहाँका कयौँ विद्यार्थीसँग पैसा हुँदैनथ्यो । मैले पशुपति क्याम्पस पढ्दै गर्दा आफ्नो खाजाको पैसा बचाएर जिल्लामा धेरै सहयोग गरेको छु ।
देशमा बेरोजगारी समस्या रहेको घाम जतिकै छर्लङ्ग छ । यसको लागि अब केहि गर्नुपर्ने अवस्था छ । देशका उर्जाशील यूवा शक्ति बेरोजगारीका कारण बिदेशिन बाध्य छन् । नेपालमा गणतान्त्रिक संविधान जारी भएको डेढ वर्ष बितिसक्दा समेत युवाका मुद्धाहरु खासै सम्बोधन हुन सकेको छैन । फलस्वरुप युवा शक्तिहरुमा स्वदेश प्रतिको नैराश्यता र विदेश प्रतिको मोह मौलाउँदै गइरहेको देखिन्छ । समग्रतामा आर्थिक, शैक्षिक जस्ता क्षेत्रमा विकास गर्न सकेको खण्डमा केहि समयको अन्तरालमा युवा महिलाका मुद्दाहरुमा परिवर्तन पक्कै आउने छन् ।
हाल युवाहरुको विदेश पलायन टडकारो समस्या बनेको छ । गाई हरियो घाँस जहाँ देख्छ, त्यहीँ चर्न जान्छ भने झैँ विश्वव्यापीकरणले खुल्ला गरेको रोजगारीको विश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविष्य देख्छन् युवापिँढी त्यतै पलायन हुनु स्वाभाविकै मान्नुपर्छ । धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो बेरोजगारी, बेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता र राजनीतिप्रति विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यवहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनुले बेरोगारी निम्त्याएको हो ।
काभ्रे उत्पादन, पर्यटन, व्यापार र लगानीको लागि उर्वर भूमि हो । काभ्रेको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ, त्यसको अपनत्व युवालाई दिलाएर युवा सक्रियता बढाउन मेरो योजना छन् । युवा युवतीले यहाँको उपलब्ध साधन स्रोतमा रोजगारीका लागि पहिलो प्राथमिकता पाउने छन् । एक टोल एक सहकारी र एक घर एक रोजगारी मेरो मुख्य एजेण्डा रहेको छ । मेरो उद्देश्य र संकल्प बारे सबै मतदाता अनविज्ञ छैनन् । नेपाल जस्तो गरिब राष्ट्र, अझ काभ्रे सुगम भनिए पनि र राजधानीसँग जोडिए पनि हाम्रो क्षेत्रका कतिपय भुभागको समग्र अवस्था दयनीय छ । हामीले सम्पन्नता कुरा गरे पनि भुल्नै नहुने यथार्थ के हो भने पेटमा भनेको समयमा सिटामोल पुग्दैन ।
अनी आत्मनिर्भरता र सम्वृद्धिका नाराले के हुन्छ ? काभ्रेका लागि निरपेक्ष आत्मनिर्भरता सम्भव छैन । तर निरपेक्ष परनिर्भरताले पनि काभ्रेको मुहार फेर्न सम्भव छैन । त्यसैले एक हदसम्म निजी क्षेत्रलाई उत्साहित र जागरुक नतुल्याएसम्म न उत्पादन बढ्छ, न उद्योग विकास नै हुन्छ । यसका लागि महिला दिदीबहिनीलाई सिप, सहकारी, शिक्षा र रोजगारीमा पहिलो प्राथमिकता उहाँहरुलाई नै दिने मेरो ध्येय हो । लोकतान्त्रिक समाजवादमा धनि, गरिब बिचको असमानताको खाडल कम गराउन, प्रगतिशिल कर प्रणाली लागु गरि काभ्रेको स्रोत र साधनमा सबै वर्ग र समुदायको समान अधिकार स्थापित गराउन पनि हामी भोटका दावेदार हौ । यीनै आधारहरुले गर्दा म र मेरो पार्टी नेपाली कांग्रेसलाई मतदाताहरुले भोत हाल्छन् ।
अहिलेको सन्दर्भमा मुलुकका केही राजनीतिक शक्तिहरु जुनसुकै नाम दिएर तालमेल गरे पनि कांग्रेससँग मात्र देशको मुहार फेर्ने ताकत, वर्कत र ल्याकत छ । कांग्रेसका उमेदवारलाई मतदान गर्नुहोला । हामी आम जनतासँग निकै नजिक छौं त्यसैले काभ्रे जिल्लामा नेपाली कांग्रेसले नै विजयको झण्डा फहराउँछ ।
-काभ्रे सन्देश साप्ताहिक बाट

8015
Shares

ट्रेन्डिङ