सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • जीप दुर्घटना : बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार

जीप दुर्घटना : बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार

5580
Shares
जीप दुर्घटना : बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार

हुम्ला / कर्णाली नदीमा जीप खसेर बेपत्ता भएका सबैको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको हो । हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि बुधबार खार्पुनाथ गाउँपालिकाले बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो ।

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार किरिया खर्चस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । १० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।

तर गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताउनुभयो । साथै असार १५ गते गाउँपालिका भवनमा शोकसभा आयोजना तथा गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा दिइने घोषणा गरेको वडाध्यक्ष शाहीले बताउनुभयो ।

खोजीका क्रममा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीले बोकेको ब्याग फेला परेको भए भए पनि जीप र त्यसमा रहेका यात्रु फेला नपरेको र खोजी भइरहेको वडा नम्बर पाँचका वडाध्यक्ष भीमराज शाहीले बताउनुभयो । हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको छ ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।

5580
Shares

ट्रेन्डिङ