सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कोभिड–१९ : सावधान ! बढ्दो छ सङ्क्रमणको गति

कोभिड–१९ : सावधान ! बढ्दो छ सङ्क्रमणको गति

यस्तो हुन्छ कोरोनाको असर

4145
Shares
कोभिड–१९ : सावधान ! बढ्दो छ सङ्क्रमणको गति

काठमाडौँ, १७ जेठ : विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९उन्नाइसले बढेर आज सबैभन्दा बढी १८९ जनामा देखियो ।

गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने सङ्क्रमणको गति झन् बढ्दो छ । यही जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो । जेठ १५ गते १५६ जनामा सङ्क्रमण देखिएको थियो । जेठ १४ गते ११४ फेला परे । जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना सङ्क्रमित भेटिएका थिए ।

मन्त्रालयले दिएको विवरणअनुसार आजसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन् । अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ । मृतकको नजिक रहेका व्यक्तिको कन्ट्र्याक्ट टे«ेसिङको काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो । पुष्टि गर्न विश्वस्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनुपरेको थियो । तर अहिले नेपालका २० भन्दाबढी स्थानबाट यसको परीक्षण हुँदै आएको छ ।

त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा मात्रै फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । युवती चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिकरुपमा बढ्दो छ ।

पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा बढ्दो छ । सङ्क्रमणको जोखिम बढेपछि मुलुकमा चैत १० बाट हवाई उडान बन्द गरिए पनि भारतीय खुला सीमाका कारण सङ्क्रमित व्यक्ति सहजरुपमा नेपाल भित्रिँदा कोभिड–१९ सङ्क्रमण फैलिनमा सहयोग गरेको विज्ञहरु बताउछन् ।

सरकारले परीक्षणको दायरा फराकिलो बनाएकाले पनि सङ्क्रमणदरको सङ्ख्या बढोत्तरी देखिएको प्रवक्ता डा देवकोटा बताउनुहुन्छ । तर विगतमा भन्दा विस्तारै सङ्क्रमण फैलिनेक्रम भने बढ्दो गतिमा छ ।

२१–३० वर्ष उमेर समूहका बढी सङ्क्रमित
मन्त्रालयद्वारा सार्वजनिक शुक्रबारसम्मको अभिलेखअनुसार मुलुकका ४७ जिल्लामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी २१–३० वर्ष उमेर समूहमा ४४९ व्यक्ति सङ्क्रमणबाट प्रभावित छन् ।

यस्तै ११–२० वर्ष उमेर समूहका २५४ तथा ३१–४० वर्ष उमेर समूहका २८७ जना सङ्क्रमित भएका पाइएको छ । दश वर्ष उमेरभन्दा कमका ३७ जना तथा ७१ वर्षमाथिका छ जना बिरामी भेटिएका छन् । असी वर्षमाथिको भने एक जना छन् । बिरामीको अस्पताल बसाइ औसत १८ दिन रहेको छ । सरकार अझै परीक्षणको दायरा बढाउँदै सङ्क्रमण रोक्न एकत्रित भएर लागेको छ ।

बन्दाबन्दी बढाउनुपर्ने आवश्यकता
सङ्क्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो । बन्दाबन्दी यही वैशाख २० सम्म जारी छ । अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ । बन्दाबन्दीको मोडालिटीमा परिवर्तन गर्ने विषय अहिले बहसमा उठेको छ ।

सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भनिसकेको छ । त्यसैले पनि अझै सावधानी अपनाउने, क्वारेन्टिन र आइसोलेसनको उचित व्यवस्थापनमा ध्यान जरुरी छ । सर्वसाधारणले पनि आफैँ सावधानी अपनाउनुपर्छ । पछिल्लो समयमा पत्रकार, सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा समेत कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको छ । त्यसैले अझै सरकारले सक्रियता बढाउने र सर्बसाधारणले थप सावधानी अपनाउन जरुरी रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउनुहुन्छ ।

सुरक्षाको अग्रपङ्क्तिमा रहेका २० प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाका जवानमा समेत कोभिड–१९ पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले अग्रपङ्क्तिमा खटिने भएकाले मापदण्डअनुसार उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको बताउनुभयो ।

यस्तो हुन्छ कोरोनाको असर
कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्छ । नयाँ भाइरस भएकाले खास उपचार विधि पत्ता लागिसकेको छैन । विश्वका वैज्ञानिक औषधिको खोजीमा लागिरहेका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पुष्टि गरिसकेको छ ।

सन् २००२ मा चीनमा सार्स कोरोना देखिएको थियो । त्यसको पुष्टि २००३ मा डब्लुएचओले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकामा ७७४ को मृत्यु भएको थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्र्रतिशत थियो । सार्सको मृत्युदर १० प्रतिशत थियो । सन् २०१५ मा दक्षिण कोरियामा पनि देखिएको थियो । अहिलेको मृत्युदर भने तीन प्रतिशत रहेको यसअघि नै विश्वस्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको थियो ।

यसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । नेपालले पनि यही विधि अपनाउँदै आएको छ ।

धेरै भीडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने, नियमित मास्क लगाउने, एक मिटर टाढाको सामाजिक दूरी कायम गर्दा रोगबाट बच्न सकिने मन्त्रालयका प्रवक्ता डा देवकोटा बताउनुहुन्छ ।

विश्व र नेपालको विवरण
विश्वभर अहिलेसम्म २१६ मुलुकमा कोभिड–१९ देखिएको छ । कूल ६० लाख ४८ हजार बढी सङ्क्रमित भेटिएका छन् । तीन लाख ६७ हजार २२८ जनाको मृत्यु भइसकेको छ । दुई लाख ६८ हजार निको भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म पिसिआर ६६ हजार ७२९ जनाको र एक लाख सात हजार ५५ जनाको आरडिटीबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार बढीको परीक्षण भएको मन्त्रालयले जनाएको छ । आज मात्रै नयाँ सङ्क्रमित १८९ जना छन् । हालसम्म कूल एक हजार ४०१ पुगेकामा २१९ जना निको भएर घर फर्किएका छन् । रासस

4145
Shares

ट्रेन्डिङ