सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विश्व अर्थतन्त्रको निराश दृश्य

विश्व अर्थतन्त्रको निराश दृश्य

7760
Shares
विश्व अर्थतन्त्रको निराश दृश्य

काठमाडाैं, २३ असार : संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ।

कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन्। यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन विश्व बैंकले गरेको छ। बैंकले एक महिनाअघि जारी गरेको प्रतिवेदनले विश्व अर्थतन्त्र ५.२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो। सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको छ।

अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था कंग्रेसनल रिसर्च सर्भिसले गत बिहीबार जारी गरेको प्रतिवेदनमा कोरोनाकै कारण विश्व अर्थतन्त्रले ९०० खर्ब अमेरिकी डलर गुमाएको उल्लेख छ। अर्थशास्त्रीले ९० वर्षअघि अमेरिकाबाट सुरु भएको विश्व महामन्दी (ग्रेट डिप्रेसन)यताकै खराब अवस्थामा अहिले विश्व अर्थतन्त्र गुज्रिहेको बताएका छन्।

के यस घटनाले विश्व अर्थ व्यवस्था र व्यापार शृंखलामा ठूलो बदलाव ल्याउन सक्ला ? वा नयाँ आर्थिक शक्तिहरूको जन्म होला ? अर्थशास्त्रीहरू तत्कालै धेरै ठूलो परिवर्तन हुने त देख्दैनन्। तर, यो घटना विश्व आर्थिक शक्तिको समीकरण बदल्ने नयाँ खुड्किलोचाहिँ बन्न सक्ने बताउँछन्।

कोभिड–१९ को सुरुआतअघि नै संसारले विद्यमान व्यापार प्रणालीको विकल्प खोजिरहेको थियो। पुरानो आर्थिक शक्ति जापानले सन् २००८ को आर्थिक मन्दीबाट बाहिर आउन सुरु गरेको मुद्रा युद्ध अर्थात् आफ्नो मुद्राको भाउ सस्तो बनाएर निर्यात उकास्ने दाउदेखि नै विश्व व्यापार प्रणालीबारे विरोध सुरु भएको थियो। त्यही विधि पछि चीनले प्रयोग गर्‍यो।

पश्चिमा राष्ट्रले चीनको उक्त रणनीतिको विरोध गरिरहेकै बेला अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले त चीनविरुद्ध व्यापार युद्ध नै छेडिदिए। ट्रम्पले ‘अमेरिका पहिले’ भन्ने राष्ट्रवादी (अन्तरमुखी) नीति अघि सारेपछि भने विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय स्वतन्त्र व्यापार प्रणालीमाथि प्रश्न उठ्न थालेको थियो।

युरोपेली संघबाट बेलायत छुट्टिने दिशामा अघि बढ्नु र ६ वर्षअघि नै भारतको ‘मेक इन इन्डिया’ नाराले राष्ट्रवाद हाबी हुँदै गएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष मेमा ‘आत्मनिर्भर भारत अभियान’ घोषणा गरेर यसलाई अझ बल पुर्‍याए।

कोभिड–१९ को दलदलबाट विश्व अर्थतन्त्र कहिलेसम्म बाहिर आउला भन्ने अनुमान कसैले गर्न सकेका छैनन्। यद्यपि, भाइरसले दोस्रो इनिङ सुरु गरेन भने आगामी वर्षदेखि आर्थिक वृद्धि लयमा फर्कन सक्ने अनुमान गरिएको छ। विश्व बैंकले सन् २०२१ मा विश्व अर्थतन्त्र ४.२ प्रतिशत बढ्न सक्ने अनुमान गरेको छ। तर, पोहोरकै बिन्दुमा फर्कन कम्तीमा अझै दुई वर्ष लाग्नेमा भने धेरैको विश्वास छ।

सबैजसो आर्थिक थिंकट्यांकले कोरोना भाइरसद्वारा सृजित यो संकटबाट विकसित मुलुकहरु सबैभन्दा ज्यादा प्रभावित हुने देखाएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा अमेरिकाको आर्थिक वृद्धि ८ प्रतिशतसम्म खस्कन सक्ने भनेको छ। कोरोनाबाट अतिप्रभावित स्पेन र इटलीको आर्थिक वृद्धि यो वर्ष समान १२.८ प्रतिशत खुम्चने प्रक्षेपण कोषको छ। त्यसपछि ठूलो धक्का फ्रान्सलाई लाग्ने अनुमान छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छापिएकाे छ ।

7760
Shares

ट्रेन्डिङ