सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेका अध्यक्ष ब्याञ्जुले अधिवेशनको पूर्वसन्ध्यामा भने ‘काभ्रेमा पार्टी फुटको कुनै पनि असर परेको छैन’

एमाले काभ्रेका अध्यक्ष ब्याञ्जुले अधिवेशनको पूर्वसन्ध्यामा भने ‘काभ्रेमा पार्टी फुटको कुनै पनि असर परेको छैन’

4560
Shares
एमाले काभ्रेका अध्यक्ष ब्याञ्जुले अधिवेशनको पूर्वसन्ध्यामा भने ‘काभ्रेमा पार्टी फुटको कुनै पनि असर परेको छैन’

 

काभ्रेमा हुने एमाले जिल्ला अधिवेशनबाट काभ्रे जिल्लामा पार्टी फुटको कुनै पनि असर नपरेको सन्देश दिने पार्टीका जिल्ला अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।

एमाले फुटेर देशैभर यसको प्रभाव परेपनि काभ्रे जिल्लामा कुनै पनि असर परेको छैन भन्ने सन्देश आफूहरुले दिन खोजेको ब्याञ्जुको भनाई छ ।

नेतृत्व छान्नका लागि मात्रै अधिवेशन हुने नभई एमाले काभ्रेको एजेण्डा गाउँ गाउँ पुर्याउनु यसको उदेश्य भएको आज भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो ।

आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक समेत रहेका ब्याञ्जु श्रेष्ठले एमाले काभ्रेले १० औँ जिल्ला अधिवेशनमा कम्तिमा ४७ लाख रुपैयाँ खर्च हुने समेत जानकारी दिनुभयो।

उहाँका अनुसार खुल्ला प्रतिनिधि शुल्क १ हजार र दलित प्रतिनिधि शुल्क ५ सय तोकिएको छ । त्यस्तै एमाले पार्टीबाट निर्वाचित गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदले साढे २ महिनाको तलब अधिवेशनका लागि खर्च गर्नेछन् ।

यो पटकको अधिवेशनमा एमालेले कसैसँग पनि चन्दा नमाग्ने अध्यक्ष ब्याञ्जुले बताउनुभयो । ‘यो पटक हामी कसैसँग पनि चन्दा माग्दैनौँ । चन्दा संकलन गर्ने बारे हामीले कुनै निर्णय गरेका छैनौँ ।

साच्चै भन्ने हो भने हामीले यो पटक चन्दाका लागि रसिद समेत छपाएका छैनौँ । यो पटक हामी हाम्रै पार्टीको तर्फबाट खर्चको ब्यवस्थापन गर्छौ । अध्यक्ष ब्याञ्जुले भन्नुभयो ।’

उपसचिब एवं प्रचारप्रसार उपसमितिका संयोजक इन्द्र तामाङले अधिवेशनमा मतदानका लागि विद्यूतीय भोटिङ मेसिनको प्रयोग हुने जानकारी दिनुभयो । क्यूआर कोड अंकित प्रतिनिधि कार्ड हुनेछ ।

मञ्च तथा मञ्चमा प्रयोग हुने साउण्ड सिस्टम र अन्य सामग्री उच्च प्रविधियुक्त हुनेछ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने छ । जसमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, सचिब एक जना, उपसचिब दुई जना गरी ५ जना पदाधिकारी रहनेछन् ।

जिल्ला अधिवेशनमा पदेन, भूगोल, पालिका कमिटी, जनसंगठन र मनोनित गरि करिब १ हजार ३ सय ५० जना प्रतिनिधि छानिएको उपसमिति संयोजक तामाङले बताउनुभयो ।

अधिवेशनले एमाले काभ्रेको भावी नेतृत्व चयन गर्नुका साथै जिल्लाको विकास र समृद्धिमा एमालेले खेलेको भुमिकाको समीक्षा हुनेछ । त्यस्तै भविष्यको नयाँ खाका कोर्ने उपसमिति संयोजक तामाङले जानकारी दिनुभयो ।

एमालेले आगामी तीन वटै निर्वाचनमा सबै उम्मेदवारलाई निर्वाचित गराउने योजना समेत निर्माण गर्ने बताएको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ब्याञ्जुले ३० हजार नागरिक पुस २३ गते धुलिखेलमा जम्मा हुने दाबी गर्नुभयो ।

तीन ठाउँमा पार्किङको ब्यवस्था मिलाइएको छ । खुल्ला सत्रमा ५ सय र बन्द सत्रमा २ सय स्वयमसेवक परिचालन हुने अध्यक्ष ब्याञ्जुले बताउनुभयो ।

4560
Shares

ट्रेन्डिङ