सबैको समाचार
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • ई–सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाखभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाखभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

1805
Shares
ई–सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाखभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

काठमाण्डाै । ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाण्डाै जिल्ला प्रहरी परिसर टेकु पठाइएको उहाँले बताउनुभयो ।

1805
Shares

ट्रेन्डिङ